अघिल्लो स्थानीय निर्वाचन : कति छिट्टै बितेछ दुई दशक !

काठमाडौँ, ३० वैशाख । “दुई दशकअघिको स्थानीय निकायको निर्वाचनको दिन म झल्झली सम्झिरहेको छु ।”

कीर्तिपुर नगरपालिका–६ नयाँबस्ती निवासी विष्णु्माया आचार्य भन्नुहुन्छ, “शनिबार दिन थियो, बिहान ४ बजे नै मलाई बेथा लाग्यो र छोरो जन्मियो । भोट हाल्न पाइनँ, २० वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ, यस पटक मैले त भोट हाल्छु तर छोरो तीन महिनाअघि मात्र पढ्नका लागि विदेश गएकाले उसले मत हाल्न नपाउने भयो ।”

विसं २०५४ जेठ ४ गते स्थानीय निकायको निर्वाचन हुँदा विष्णुमाया पुख्र्यौली घर प्युठानको दाङवाङ– ४ मा हुनुहुन्थ्यो । सुत्केरी हुने बेलामा उहाँ एक्लै पर्नुभयो । श्रीमान् मत हाल्न गएका थिए भने साथमा छोराअघिका छोरी मात्र थिए । श्रीमान् चोपनिधिलाई राष्ट्रिय जनमोर्चालाई गाविस अध्यक्षमा उम्मेदवार बनाउन खोजे पनि घरमा सुत्केरी हुने भएकाले आचार्यले उम्मेदवारी दिनुभएन तर सक्रिय कार्यकर्ता भएकाले मतदान केन्द्रमा बिहानै उहाँका श्रीमान् जानुभएको थियो ।

यसबीचमा चोपनिधिको पनि निधन भइसकेको छ भने विष्णुमायाले आफ्ना तीन छोरीको विवाह सम्पन्न गराएर तीन महिनाअघि मात्र छोरा पशुपतिलाई उच्च शिक्षा अध्ययनका लागि अस्टे«लिया पठाउनुभएको छ ।

विष्णुमायाले संविधानसभाको निर्वाचनमा भाग लिए पनि पशुपति त्यसबेला वालिग भइसकेका थिएनन् । विष्णुमायाका छोरा निर्वाचनका दिन जन्मिएका हुनाले गाउँमा उनको नाम विजय राख्न छिमेकीले सुझाएको पनि उहाँको स्मृतिमा ताजै छ । विष्णुमायाको जीवनका देखा परेका यति धेरै आरोह अवरोहमा स्थानीय तह÷निकायको निर्वाचन हुन नसक्नु राजनीतिक सङ्क्रमणकालको उपज मान्न सकिएला तर लोकतान्त्रिक मुलुक, जहाँ स्थानीय तहको अधिकारको विकेन्द्रीकरणको लहर चलेको छ, मा यति लामो समय कर्मचारीका भरमा ती निकाय चल्नु कति उचित थियो ?

जे होस्, दुई दशकपछि वैशाख ३१ गते आइतबार मुलुकका तीन वटा प्रदेशमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा आगामी जेठ ३१ मा बाँकी चार वटा प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचन हुने घोषणासँगै सर्वसाधारणमा एक प्रकारको उत्साह उत्पन्न भएको छ । लोकतन्त्रमा आफ्नो अभिमतबाट जनप्रतिनिधि छान्ने यो अवसर आवधिक रुपमा आउनुपर्नेमा कुनै दुई मत हुन सक्दैन ।

“यस पटक कीर्तिपुरमै मत हाल्छु, दलको आधारमा भन्दा पनि काम गर्न र जित्न सक्ने दललाई मत दिन्छु, यो निर्वाचनमा छोरा साथमा नभएकाले पनि म उसलाई बढी सम्झिरहेको छु”, विष्णुमायाले भन्नुभयो ।

बल्खुमा तरकारी पसल चलाइरहनुभएका ३० वर्षीया गुनु महर्जन पनि यस पटक मत हाल्ने तयारीमा हुनुहुन्छ । अघिल्लो स्थानीय निर्वाचनबारे अलि अलि सम्झना भएको बताउँदै उहाँ भन्नुुहुन्छ, ‘मत त दिनैप¥यो तर चुनावको भोलिपल्ट नेताहरुले हामीलाई चिन्ने हुन् कि होइनन् ?’

नुवाकोटको मनकामना गाउँपालिकाका ६१ वर्षीय छविलाल भट्टराई भने तस्बिरसहितको मतदाता नामावलीमा नाम छुटेका कारण मत हाल्न नपाइने चिन्तामा हुनुहुन्छ । काठमाडौँमा रोजगारी गरिरहनु भएका भट्टराईको गुनासो छ, “बल्ल बल्ल हुन लागेको स्थानीय निर्वाचनमा मत हाल्ने मेरो रहर छ तर गाउँमा फोटो खिचाउने बेलामा थाहै भएन, भोट चाहिने नेताहरुले पनि खबर गरिदिएनन्, त्यसैले म काठमाडौँमै अरुले मत हालेका हेरेर दिन बिताउने सुरमा छु ।” रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।