सञ्चारमाध्यममा निर्वाचन परिणामका समाचार : बुझाइ आ–आफ्नै

काठमाडौँ, २ जेठ । ‘हैन कस्तो जमाना आएको ? समाचार सही कि गलत पाठक आफैँले छानेर बुझ्नुपर्ने ? ए स्वतन्त्र प्रेस, स्वतन्त्र पत्रकार भनेर कुर्लनेहरू हो, स्वतन्त्रता भनेको तिमीहरूलाई जे मन लाग्यो त्यही हो ।’

पहिलो चरणको स्थानीय निर्वाचनको प्रारम्भिक मतपरिणामबारे सञ्चारमाध्यममा आएका समाचारमाथि सामाजिक सञ्चालमा अच्युत लोहनीले उठाएको प्रश्न हो यो ।

गत वैशाख ३१ विभिन्न ३४ जिल्लाका ३८३ स्थानीय तहका लागि भएको निर्वाचनको मतगणना सोही दिन राति आरम्भ भएदेखि नै सञ्चारमाध्यमले निरन्तर समाचार सम्प्रेषण गरेका छन् । ती माध्यमले पाठक र दर्शकको उत्सुकता मेटाउन मेहनतका साथ आफ्नो दायित्व निर्वाह गरिरहेका छन्, जसका कारण चोकचोकमा कुन स्थानमा कुन दलका कुन उम्मेदवारको कति ? कसले बाजी मार्ला जस्ता टीकाटिप्पणी भइरहेका छन् ।

सामाजिक सञ्जालले पनि सञ्चारमाध्यमलाई पछ्याइरहेका छन् भने कतिपय सञ्चारमाध्यमले सामाजिक सञ्जालका सूचनालाई पनि उपयोग गरेका छन् तर एक लाखभन्दा बढी मत भएको कुनै नगरपालिकामा ४०÷५० मत गन्दादेखि नै ‘फलानोको अग्रता, फलानो पछि प¥यो’ जस्ता शीर्षक र सन्देशका प्रशस्त समाचार आइरहेका छन् । कतिपयले पुष्टि बिनाको आँकडाका आधारमा पनि समाचार बनाएका छन् ।

सञ्चार क्षेत्रको व्यावसायिकता र सूचना प्रविधिको दूत विकाससँगै देखिएको प्रतिस्पर्धात्मक वातावरण र आफ्ना स्रोता, पाठक र दर्शकलाई बढीभन्दा बढी ताजा सूचना दिन सञ्चारमाध्यमको पहल स्वभाविक हो तर तथ्यलाई भ्रमात्मक र सनसनीपूर्ण बनाउने प्रकारका सूचना पनि यसबीचमा सम्प्रेषण भइरहेका छन् । टेलिभिजन, रेडियो र अनलाइनले प्रत्यक्ष सम्प्रेषण गरिरहेका छन् भने दैनिक पत्रिकाले विशेष प्राथमिकतासहित पछिल्ला सूचना र विश्लेषण दिएका छन् ।

एउटा उम्मेदवारको १६ मत र अर्काेको ३२ आयो भने दोब्बरको अन्तर भनिदिएमा के होला ? खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले भन्नुहुन्छ, “अपरिपक्व सूचना पस्केर भ्रम सिर्जना गर्नु हुँदैन । गलत अर्थ लाग्ने गरी या जानेर÷नजानेर वा बद्नियतपूर्वक सम्प्रेषण गरिनु गल्ती हो । सञ्चारमाध्यम ‘प्रोपोगान्डा’ गर्नेको पछि लाग्नु हुँदैन । सञ्चारमाध्यम र पत्रकार सचेत हुनुपर्छ ।” नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष समेत रहेका उहाँको विचारमा निर्वाचन परिणामसम्बन्धी समाचार ‘असरल्ल र तोडमोडपूर्ण’ भएको छ ।

त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख चिरञ्जीवी खनाल निर्वाचन आयोगको गणना प्रक्रियामा देखिएको धिमा गतिका कारण सूचना सम्प्रेषणमा यस्तो स्थिति देखिएको बताउनुहुनछ । खनालले रासससँग भन्नुभयो, “आयोगले सार्वजनिक गरिसकेका सूचना सञ्चार माध्यमले आफ्ना पाठक र दर्शकलाई दिनु उसको दायित्व हो । मूल कुरा आयोगले छिटो गणना र सहज व्यवस्थापनमा जोड दिनुुपर्छ ।”

वरिष्ठ पत्रकार एवम् अन्नपूर्ण पोस्टका सम्पादक युवराज घिमिरे सञ्चारमाध्यमले गल्ती गरेको छ भन्नुभन्दा पनि आयोगको सूचना प्रणाली कस्तो छ भन्ने प्रश्नलाई बढी प्राथमिकता दिनुहुन्छ । यस्तो सवालमा कुनै निश्चित मानक वा मापदण्डले काम गर्नुपर्छ भन्ने नहुने घिमिरेको तर्क छ । ‘सञ्चारमाध्यमले समग्र प्रवृत्ति दिने हो, श्रोता र पाठकले आफ्नो हिसाबले बुझ्न सक्छन्, यहाँ त कसरी सञ्चारमाध्यमलाई सूचना दिने भन्ने व्यवस्थित प्रणालीको पनि अभाव छ ।’ रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।