यौन सम्पर्क गर्दा किन कन्डम प्रयोग गर्न मन लाग्दैन ? – यस्तो छ कारण…
मेरो बिहे भएको चार वर्ष भयो । एक वर्षको बच्चा पनि छ । म २८ वर्षको भएँ । यौन सम्पर्क गर्दा कन्डम प्रयोग गर्न मन लाग्दैन । श्रीमतीले अहिले परिवार नियोजनको अस्थायी चक्की (पिल्स) खाइरहेकी छिन् । यसले पछि साइड इफेक्ट हुन्छ भनेको सुनेको छु । म स्थायी बन्ध्याकरण गर्ने सोचमा छु । पछि अर्को बच्चाको इच्छा भयो भने स्थायी बन्ध्याकरण उल्टाउन मिल्छ कि मिल्दैन ? -सन्देश
बन्ध्याकरण परिवार नियोजनको स्थायी र अरू साधनभन्दा भरपर्दो मध्यम हो । कन्डम प्रयोग गर्न मन नलागेर स्थायी बन्ध्याकरण गर्ने तपाईंको योजना त्यति ठीक लागेन । तपाईंको उमेर र पारिवारिक अवस्था हेर्दा अहिले नै बन्ध्याकरण गरिहाल्नुपर्छ जस्तो लाग्दैन । तपाईंको एक मात्र बच्चा छ, त्यो पनि एक वर्षको । उमेर २८ वर्ष मात्र भएको छ । यस्तो अवस्थामा तपाईंले अहिले नै स्थायी बन्ध्याकरण गर्नेभन्दा पनि अस्थायी साधन प्रयोग गर्नुभए बेस हुन्छ । बन्ध्याकरण गरेपछि पनि छ महिनासम्म कन्डम प्रयोग गर्नैपर्छ । त्योभन्दा पनि महत्वपूर्ण कुरा त कन्डमले यौन रोगहरूबाट पनि बचाउँछ; जुन बन्ध्याकरण गरेर सम्भव हुँदैन ।
पुरुष बन्ध्याकरण १९ औँ शताब्दीबाट सुरु भए पनि अमेरिकामा १९४१ तिर सुरु भएको थियो । तर, १९६१ देखि मात्र यसको प्रयोग बढेको हो । यो एउटा सामान्य शल्यक्रिया हो, जसद्वारा पुरुषलाई बाँझो बनाइन्छ । बच्चा जन्माउनका लागि पुरुषको शुक्रकीट चाहिन्छ, जुन अन्डकोषमा बन्छ । यौन सम्पर्कको बेला त्यहाँ बनेको शुक्रकीट अन्डकोषबाट दुई वटा नलीहरूद्वारा लिंग हुँदै पाठेघरभित्र पुगेपछि फर्टिलाइजेसन हुन्छ । पुरुष बन्ध्याकरणमा यिनै दुई वटा नलीहरू काटेर चुँडाइन्छ । बन्ध्याकरणपछि फेरि सन्तानको चाहना भएमा यिनै नलीलाई जोडिन्छ ।
बन्ध्याकरणपछि पुनः शल्यक्रियाद्वारा बच्चा जन्माउन सक्ने हुन सकिन्छ । तर, शतप्रतिशत सफलता पाइन्छ नै भन्ने छैन । बन्ध्याकरणपछि अण्डकोषद्वारा शुक्रकीट उत्पादनको मात्रा घटेर जान्छ र कालान्तरमा शुक्रकीटको विरुद्ध नै हाम्रो शरीरले एन्टिबडी बनाउँछ र शुक्रकीटलाई नष्ट गर्छ ।
तपाईंकी श्रीमतीले परिवार नियोजनको अस्थायी साधन चक्की खाइरहनुभएको रहेछ । यो राम्रो कुरा हो । किनभने, यसले गर्भ रहन दिँदैन । यसबाट साइड इफेक्ट हुन्छ कि हुँदैन भन्ने चाहिँ व्यक्तिपिच्छे फरक पर्छ । त्यसकारण केही समस्या आयो भने चिकित्सकसँग परामर्श गर्नुहोला । समस्या नहुँदासम्म यो चक्की खाए खासै फरक पर्दैन । सबैभन्दा राम्रो तपाईंले कन्डम प्रयोग गरेर सेक्स गर्नुभयो भने धेरै झन्झटबाट बच्न सकिन्छ । कन्डम लगाएर यौन सम्पर्क गर्दा आनन्दमा कुनै अन्तर पर्दैन । – शुक्रबारबाट


