मतगणनास्थल जानलाग्दा हृदयघात भई कांग्रेसका उपसभापतिको मृत्यु
कांग्रेसका उपसभापतिको हृदयघातका कारण मृत्यु
कास्की । कास्कीका कांग्रेसका उपसभापति हरि आचार्यको हृदयघातका कारण मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका ११ काँहुका ४४ वर्षीय आचार्यको मृत्यु भएको हो ।

बुधबार बिहान खाना खाएका उनी महानगरको मतगणनास्थलमा जाने तयारी थिए । १० बजेतिर एक्कासी ढलेका उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्ने वित्तिकै उनको मृत्यु भएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले बताए । केसीका अनुसार केही दिनदेखि टाइफाईडको लक्षण देखिएपछि आचार्यले औषधिसमेत सेवन गरिरहेका थिए । आचार्यका बाबुआमा, श्रीमती, एक छोरा र एक छोरी छन् । आचार्यको बुधबारै अन्त्येष्टि गरिने केसीले बताए ।
आचार्य कांग्रेस कास्कीको बाह्रौ र तेह्रौं अधिवेशनबाट जिल्ला सदस्यमा चुनिएका थिए । कांग्रेसको विधान अनुसार उनलाई यसपटक उपाध्यक्ष मनोनित गरिएको थियो । तरुण दल कास्कीका पूर्वसहसचिवसमेत रहेका आचार्य विभिन्न सामाजिक संघ संस्थामा पनि क्रियाशील थिए ।


