दुबईमा बस दुर्घटना हुँदा २ नेपाली सहित ७ जनाको मृत्यु, ६ जना गम्भीर घाइते

काठमाडौं, जेठ १० । संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबईमा बस दुर्घटना हुँदा २ नेपाली सुरक्षा गार्डसहित ७ जना कामदारको ज्यान गएको छ । ६ जना नेपाली गम्भीर घाइते भएका छन् ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा वासुदेव लामिछाने र चितवनका कृष्णप्रसाद भुसाल छन् । घाइते हुनेमा चारआली झापाका २८ वर्षीय हरि धिमाल, पथरी, मोरङका २४ वर्षीय सागर पराजुली, तनहुँका ३० वर्षीय धनबहादुर गुरुङ, जुगेडी चितवनका २३ वर्षीय टेकप्रसाद गुरुङ, विराटचोक, मोरङका २२ वर्षीय खेमराज कटुवाल र निजगढका २२ वर्षीय गुनाबहादुर अधिकारी छन् । घाइतेको अल जहरा अस्पताल, साउदी जर्मन अस्पताल र न्यु मेडिकल सेन्टरको सघन कक्षमा उपचार भइरहेको छ । उनीहरूको टाउको, छाती र खुट्टामा चोट लागेको छ ।

ट्रान्सगार्ड समूहमा कार्यरत सुरक्षा गार्ड बोकेको बस मोहमद विन जायद र शेख जायद रोड बीचको अल यालाइस सडकखण्डमा मंगलबार दुर्घटना भएको थियो । रात्रिकालीन ड्युटी सकेर उनीहरूलाई क्याम्पमा लैजाने क्रममा बसको टायर पड्किँदा सडकको बीचमा राखिएको बारलाई नाघ्दै ट्रकलाई ठक्कर दिन पुगेको ट्राफिक विभाग, दुबईका निर्देशक सेफ मुहैर मिजरुहीले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

दुर्घटनालगत्तै घाइतेलाई एयर एम्बुलेन्समार्फत नजिकको अस्पतालमा लगिएको मिजरुहीले बताए । बसमा ४१ सुरक्षा गार्ड सवार थिए । जसमा अधिकांश घाइते भएका छन् । प्रहरीले बसभित्र च्यापिएका २२ जनालाई उद्धार गरेको थियो । त्यसमा नेपाली, पाकिस्तानी र भारतीय नागरिक थिए । नेपाली दूतावासमा द्वितीय सचिव कृष्ण अर्याल र श्रमसहचारी हीरादेवी यादवले अस्पतालमा पुगी घाइतेको अवस्थाबारे जानकारी लिए । ‘हामीले सबै घाइतेको स्वास्थ्य अवस्था बुझ्यौं,’ अर्यालले कान्तिपुरलाई भने,‘सबै खतरामुक्त छन् । दुई जनाको सामान्य शल्यक्रिया गर्नुपर्नेछ ।’

सामान्य घाइते भएका नरेश तरामी मगर, सुन्दर ज्ञावली, सुरेन्द्रसिंह ठगुन्ना र डेगराज मैनाली अस्पतालबाट डिस्चार्ज भइसकेका अर्यालले बताए ।

ती सुरक्षा गार्ड ट्रान्सगार्डमार्फत एटलानटिस तथा क्रिजनेर होटलमा काम गर्थे । एटलानटिसले घटनाप्रति गहिरो दुस्ख व्यक्त गर्दै यो कठिन समयमा मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

दुबई प्रहरीका अनुसार यो वर्षमा ४९ वटा बस दुर्घटनामा परेका छन् । जसमा ७ जनाको मृत्यु र एक सय घाइते भएका छन् । सन् २०१६ मा १३३ बस दुर्घटनामा परेका थिए । जसमा २४ जनाको मृत्यु र २ सय ५८ जना घाइते भएका थिए । – कान्तिपुरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖