डेढ वर्षपछि पहिलोपटक जनकपुरको सडकमा एमालेको प्रदर्शन
जनकपुरधाम, मधेस आन्दोलनको क्रममा तराई मधेसको कडा आलोचनाको सामना गरेको एमाले पछिल्लो डेढ वर्षमा पहिलोपटक जनकपुरको सडकमा उत्रिएको छ।
पार्टीका शीर्ष नेतृत्वको मधेस विरोधी अभिव्यक्तिको कारण लामो समयदेखी सार्वजनिक रुपमा कार्यक्रम गर्न नसकेको एमालेले स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा सक्रियता बढाएको हो ।

नेकपा एमालेले जनकपुर उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गर्नुपर्ने माग गर्दै विरोध प्रर्दशन गरेको हो । सरकारले हालै वीरगंज र विराटनगरलाई उपमहानगरपालिकाबाट स्तरोन्नती गर्दै महानगरपालिका बनाउने निर्णय गरेको छ । तर, प्रादेशिक संरचनामा मधेसको राजधानीको प्रबल दाबेदार रहेको जनकपुरलाई पनि महानगरपालिका घोषणा गर्नुपर्ने मांग गर्दै एमालेले विरोध प्रर्दशन गरेको हो । भौतिक तथा सांस्कृतिक रुपमा सम्पन्न रहेपनि बदनियतपूर्ण तरिकाले सरकारले जनकपुरलाई महानगरपालिका घोषणा नगरेको एमालेको आरोप छ ।
जनकपुरमा हाल एसियाली डेभलपमेन्ट विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास परियोजना, जनकपुर जयनगर रेल्वे सेवा निर्माण, नमुना विमानस्थल निर्माण लगायतका काम सञ्चालनमा छन्। यी सबै काम सम्पन्न भएपछि जनकपुर नेपालकै नमुना शहर हुने भएपनि यसलाई महानगरपालिकामा पदोन्नती नगर्नु निन्दनीय रहेको एमाले नेताको भनाइ रहेको छ ।
एमालेको पार्टी कार्यालयबाट निस्केको विरोध जुलुसले जानकी चोक, भानु चोक, जनक चोकसहित नगरको विभिन्न भागमा परिक्रमा गरेको थियो ।
नगरपरिक्रमापछि विरोध जुलुस जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो सो सभालाई नेतृ जुली महासेठ, एमालेका केन्द्रीय सदस्य श्रीप्रसाद साह, जिल्ला अध्यक्ष राजकिशोर यादवसहितका नेताहरुले सम्बोधन गरेका छन्।


