भरतपुरमा मतपत्र च्यात्ने योजना नौ बजे नै बनेको थियो बालुवाटारमा, रमण श्रेष्ठ थिए डिजाइनर

काठमाडौं, १५ जेठ । भरतपुरमा आइतबार राती मतगणना भइरहेका बेला माओवादीका मतगणना प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले एक्कासी मतपत्र च्याते । राती ११ बजेर ५२ मिनेटमा भएको उक्त घटनाको योजना भने राती १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको खुलेको छ ।

प्रधानमन्त्री पुत्री रेणु दाहाललाई मेयरको उम्मेदवार बनाइएको भरतपुर महानगरपालिकाको मत गणना अन्तिम चरणमा पुगेको थियो । रेणुले आइतबार साँझसम्मको मत गणनामा एमाले उम्मेदवार दवी ज्ञवालीसँग मतको अन्तर घटाउँदै आएकी थिइन्

। वडा नम्बर १९ र २० को मत गणना बाँकी रहेका बेला सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा वडा नम्बर १९ को मत गणनाबाट कसले जित्ने भन्ने यकिन हुने भन्ने विभिन्न अनुमान आइरहेका थिए । वडा नम्बर १९ मा रेणुले ४०० मत देवी ज्ञवालीलाई तिर्न सके वडा नम्बर २० मा पुग्दा रेणुले जित्ने नत्र एमाले उम्मेदवार ज्ञवालीले जित्ने अनुमानहरु आम सञ्चारमा प्रस्तुत भइरहेका थिए ।

तर, वडा नम्बर १९ को मत गणना गर्दा रेणु ४०० मतले अगाडि लाग्ने त परको कुरा उल्टै देवी ज्ञवाली १८३ मतले अगाडि देखिएपछि माओवादी प्रतिनिधिहरु निराश भए ।

यहाँबाट सुरु भयो मतपत्र च्यात्ने र कुनै पनि हालतमा दाहोर्याएर मतदान गराउने योजना । प्रधानमन्त्री पुष्पकमल दाहाल कुनै पनि हालतमा छोरीलाई भरतपुरको मेयर बनाएर आगामी निर्वाचनमा चितवनमा आफ्नो क्षेत्र सुरक्षित गर्न चाहन्थे । त्यसैका लागि उनले राज्यको ठूलो धनराशी मात्रै खर्च गरेका थिएनन्, अन्यत्र सबै ठाउँमा आउने माओवादी भोट कांग्रेसमा समर्पण गरेर भरतपुरमा छोरी जिताउने एकोहोरो ध्याउन्नमा थिए ।

जव भरतपुर १९ को नतिजा अनपेक्षित आएको खवर दाहाल समक्ष आयो तव कुन आइडिायाले रेणुलाई जितेको घोषणा गर्ने भन्ने विषयमा साँझदेखि नै प्रधानमन्त्री निवासमा छलफल भयो । लामो छलफलमा सँगै रहेका महान्याधिवक्ता रमण श्रेष्ठले पुन मतदान गराउने उपाय निकालेको स्रोतले वताएको छ ।

राती सवा नौ बजेसम्म वडा नम्बर १९ का करिव २४०० मत गणना भइसकेको थियो । जसमा एमाले उम्मेदवार देवीको अग्रता घट्नुको साटो बढ्यो । ठीक त्यसैबेला ६ वटै ग्रुपको मतगणनामा बसेका माओवादी प्रतिनिधिहरु बाहिर निस्के ।

बाहिर निस्केका उनीहरु २ घन्टासम्म मतगणनास्थलमा आएनन् । त्यही दुई घन्टाको बीचमा प्रधानमन्त्री निवास बालुवाटारबा महान्याधिवक्ता रमण श्रेष्ठ र उनीहरुबीच मतपत्र च्यात्ने र पुन मतदानको माग गर्ने विषयमा निर्णय भयो । २ घन्टासम्म मत गणनास्थलबाट हराएर बैठक बसी पुन मतगणनास्थल फर्केका माओवादी प्रतिनिधिले केहीबेर अघि गरेको निर्णय कार्यान्वयन गर्न मतपत्र च्याते । मतपत्र च्यातेकै बेला ठाउँका ठाउँ माओवादी प्रतिनिधिलाई प्रहरीले पक्राऊ पनि गर्यो ।

उनीहरुलाई पक्राऊ गरेर लैजाने क्रममा मतगणनास्थल बाहिर रहेका एमाले कार्यकर्ताहरुले होहल्ला गरे । सोही ठाउँबाट एमालेका कार्यकर्ता गंगा लामालाई पनि प्रहरीले पक्राऊ गरी केहीबेरपछि छोड्यो । त्यसैबीच मतगणना अधिकृत कविप्रसाद न्यौपानेलाई पनि महान्याधिवक्ता श्रेष्ठको तर्फबाट केही निर्देशन गयो । उनले मतपत्र कसले च्यातेको आफूले थाहा नपाएको अभिब्यक्ति दिएबाट पनि उनलाई केही निर्देशन भएको बुझ्न सकिन्छ । मतपत्र च्यातेकै बेला रंगेहात पक्राऊ परेका

माओवादी प्रतिनिधिको नाम लिन नसकेका मतगणना अधिकृतले मतपत्र कसले च्यातेको भन्ने आफूले थाहा पाउन नसकेको गैरजिम्मेवारी प्रतिक्रिया दिए । मत गणना स्थगित गर्न महान्याधिवक्ताबाट दवाव आएकाले उनको ध्याउन्न मत गणना स्थगित गर्न केन्द्रित थियो । एमालेका प्रतिनिधिहरुले माओवादीले च्यातेका मतपत्र थाती राखेर अरु गणना गर्न आग्रह गर्दा पनि उनले गणना स्थगित गरे ।

बालुवाटारदेखिको योजना भएका कारण आइतबार साँझ देखि नै माओवादी र उसको चुनावी साझेदार कांग्रेस दोहोर्याएर मतदान गराउने पक्षमा थिए । त्यसैको कार्यान्वयनका लागि मात्रै उनीहरुले मतपत्र च्यातेका थिए ।

जव निर्वाचनको मत गणना अन्तिम अवस्थामा पुग्छ हार्ने सम्भावना देखिएको उम्मेदवारले केही मतपत्र च्यातेर दोहोर्याएर मतदान गराउने यस्तै हर्कतलाई अनुमोदन गर्ने हो भने दोस्रो चरणको निर्वाचनको हालत के होला ?

मतपत्र च्यातेको प्रमाणित भएकामाथि कावाही गरेर मतगणनालाई अगाडि बढाउने हो कि होइन ? यदि यसो नगर्ने हो हार्नेले मतपत्र च्यातेर फेरि मतदानको माग राखे आगामी निर्वाचनमा यो नजिर बस्ने स्पष्ट छ । चक्रपथअन्लाईनको सहयोगमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖