इतिहास धमिलो बनाउँदै देउवा, प्रधानमन्त्री बन्नुअघि नै दुई दर्जनलाई बाँडिसके मन्त्रालय, गगनको पनि गनगन
काठमाडौं, १६ जेठ । पछिल्लो छ महिना यताको राजनीतिक विकसित घटनाक्रममा गलत निर्णय र पक्ष लिएकै कारण सर्वाधिक आलोचना खेपिरहेका कांग्रेस सभापति देउवाले व्यवस्थापिका संसदको सवैभन्दा ठूलो दल नेपालीको गौरवमय इतिहासलाई धमिलो बनाउने योजनामा फसेका छन् ।
लोकमान कार्की जस्तो सर्वसत्तावाद लाद्न खोज्ने निरंकुशताको हिमायति र भ्रष्टचारीलाई संरक्षण दिएका बिबादस्पद अख्तियारका प्रमुख आयुक्तलाई महाभियोग लगाउँदा समर्थन गर्न नसकेर अनिर्णयको बन्दी बनेका कांग्रेस सभापति देउवाले आफ्नो जीवनभरको लक्ष्य नैं प्रधानमन्त्री पदलाई मात्र बनाउँदा कांग्रेस मात्र होइन मुलुकमा आएका पछिल्ला राजनीतिक परिवर्तन नैं उल्टिने खतरा भएको छ ।
विसंगति र बिकृतिका खानीको रुपमा पहिचान बनाएका देउवाले पछिल्लो समय नेपाल प्रहरीको प्रमुख नियुक्ति प्रकरणमा देखाएको अनावश्यक चासो र हस्तक्षेप, न्यायलयको फैसला बिरुद्ध पुनरावेदन दिनुको सट्टा फैसलाबिरुद्ध पार्टी केन्द्रीय कार्य समितिमा निर्णय गरेर बिष बमन गर्ने र प्रधानन्यायाधिश बिरुद्ध महाभियोग प्रस्ताव ल्याउने जस्ता गैरलोकतान्त्रिक, अलोकप्रिय र खराव आचरण प्रस्तुत गरेका छन् ।
आफ्ना कमी कमजोरी र निर्णय एक पछि अर्को बिबादमा पर्न थालेपछि त्यसबिरुद्ध पार्टी भित्रैबाट असन्तुष्टि आउन थालेका छन् । पार्टी भित्रैबाट उनलाई पार्टी सभापति वा संसदीय दलको नेतामध्ये एक पद मात्र लिन सामाजिक सञ्जालमार्फत दबाब आउन थालेपछि देउवाले आफ्ना केही भरौटेमार्फत लामो समयदेखि भातृ संस्थाको रोकिएको महाधिवेशन गर्न लगाएर अलौकिक योगदान र विलक्षण प्रतिभा देखाएको भन्दै आफ्नो गुणगान गाउन लगाएका छन् ।
देउवाको पछिल्लो अलोकप्रिय र गैरजिम्मेवारपूर्ण निर्णयको सांसदद्धारा नैं बिरोध हुन थालेपछि उनले संसदीय दलमा आफ्ना पकड कायम राख्न पार्टीका दुई दर्जन बढीलाई मन्त्री र त्यति नैं सख्यामा पार्टीको पदाधिकारी वा आकर्षक विभागहरु दिने आश्वासन दिएका छन् । पार्टी नेता रामचन्द्र पौडेलले सहमतिय आधारमा सरकार गठनको पहल हुनु पर्ने धारणा राखेपछि आत्तिएका देउवाले दिनैपिच्छे सांसदहरुलाई फोन गर्दै मन्त्री बनाई दिन्छु भन्दै हिँडेका छन् ।
देउवाले नेता पौडेललाई आगामी मन्त्रीमण्डलमा ४० प्रतिशत भाग दिने आश्वासन दिएका छन भने नेता कृष्णप्रसाद सिटौलालाई उपप्रधानमन्त्री सहित रोजेको मन्त्रालय दिने आश्वासन दिएका छन् । त्यस्तै, प्रभावशाली नेता खुमबहादुर खड्कालाई एक मन्त्री र एक राज्यमन्त्री दिने आवश्वास दिएका छन् । देउवाबाट मन्त्रीको आशवासन पाउनेहरुमा एक नम्बर प्रदेशबाट भिष्मराज आङदम्बे, केशव थापा, अमृत अर्याल, ज्ञानेन्द्रबहादुर कार्की र रामहरि खतिवडा छन् ।
प्रदेश नम्बर दुईबाट फरमुल्लाह मन्सुर, पद्म नारायण चौधरी, महेन्द्र यादब, डा. अमरेसकुमार सिंह, प्रदेश नम्बर तीनबाट ध्यानगोबिन्द रञ्जित, मोहनबहादुर बस्नेत र तीर्थ लामा छन् । चार नम्बर प्रदेशबाट धु्रव वाग्ले, कमल प्रसाद पँगेनीलाई मन्त्रीको आश्वास दिइएको छ । त्यस्तै प्रदेश नम्ब पाँचबाट अब्दुल रज्जाक गद्धी, भरतकुमार साह, अतहर कमालको नाम लिएका छन् । पाँच नम्बर प्रदेशबाट भने जुम्लाका ललिजंग रावल र राजिप शाह तथा सूदूरपश्चिमबाट एनपी साउद र बीरबहादुर बलायरलाई मन्त्री बनाउने आश्वासन दिएका छन् ।
देउवाले गोपालमान श्रेष्ठ र बिमलेन्द्र निधिलाई उपसभापति, ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्कालाई महामन्त्री, वालकृष्ण खाँडलाई सहमहामन्त्री, सरकारमा मन्त्री वा संगठन बिभाग दिने आश्वासन दिएका छन् । मानबहादुर विश्वकर्मालाई सहमहामन्त्री वा सरकारमा मन्त्री दिने भनेका छन् भने डा। प्रकाशशरण महतलाई प्रवक्ता, मिन विश्वकर्मा र रमेश लेखक मध्ये एकलाई प्रवक्ता दिने, प्रवक्ता नपाए विश्वकर्मालाई मन्त्री बनाउने पक्कापक्की भएको छ ।
यता नेता रामचन्द्र पौडेलले आनन्द्र प्रसाद ढुंगाना, महेश आचार्य र डा। शेखर कोइरालालाई मन्त्रीमा सिफारिस नगर्ने पक्का भएको छ । उनले सहमहामन्त्रीमा बलबहादुर केसीको नाम सिफारिस गर्न खोजेपनि सभापति देउवले रुचाएका छैनन् ।
केसीको सट्टामा पौडेलले महामन्त्रीको लागि दिलेन्द्रप्रसाद बढूको नाम सिफारिस गरेका छन् । तर देउवा एउटै अञ्चलबाट दुई पदाधिकारी राख्नु उचिन नहुने भन्दै बरु एउटा बिभाग वा मन्त्री पथ थप गरिदिने भन्दै पौडेललाई ललिपपको आकर्षक प्रस्ताव अघि सारेका छन् । नेता पौडेल उनकै ललिपपमा रमाउने भएका छन् । त्यसको सट्टामा देउवा मानबहादुर विश्वकर्मा वा बालकृष्ण खाँडमध्ये एकलाई सहमहामन्त्री बनाउन खोजिरहेका छन् ।
गगनको पनि गनगन
वाक चातुर्यता प्रस्तुत गर्ने वाकपटुताका धनी गगन कुमार थापा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सकरारमा सहभागी हुन नपाउने पक्का पक्की भएको छ । आत्मकेन्द्रीत प्रचारमा रमाउने, पार्टीलाई भन्दा आफूलाई केन्द्रविन्दुमा राख्ने र मन्त्री हुँदाको जस पार्टी र सरकारलाई भन्दा आफू मात्र लिन चाहने स्वभावका कारण थापा आगामी नवगठित सरकारमा सहभागी हुन नपाउने पक्का भएको छ ।
पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सिफारिसमा स्वास्थ्य मन्त्री भएका थापाले स्थानीय तहको निर्वाचनमा प्रचार प्रसार उपसमितिको उपसंयोजक भएर पार्टीको पक्षमा प्रभावकारी प्रचार संयन्त्र नचलाएको पार्टीको भन्दा बढी प्रचार आफ्नै गरेको भन्दै सभापति देउवा नै थापासँग रुष्ट बनेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास क्षेत्रमा पर्ने बुढानिलकण्ठ नगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार राजु श्रेष्ठलाई जिताउन भन्दा हराउन भूमिका खेलेको भन्दै देउवा थापाप्रति रुष्ट बनेका हुन् । काठमाडौं जिल्लाको क्षेत्र नम्बर चारबाट निर्वाचित थापाको निर्वाचन क्षेत्रमा बुढानिलकण्ठ नगरापलिका क्षेत्रमा मतदानको अघिल्लो दिन सवारी साधन लिएर प्रचार प्रसारमा उत्रिएपछि कांग्रेसविरुद्ध एमालेले मसला बनाएको थियो ।
श्रेष्ठको पक्षमा मौनअवधि भन्दा अघि कहीँ नजाने तर प्रचार प्रसारको समय सकिएपछि टोल र नगरका गल्ली चहार्न थालेपछि गगनको सर्वत्र आलोचना भएको थियो । प्रचण्ड नेतृत्वको सरकारमा सिटौला गुटबाट थापा र भिमसेनदास प्रधानमध्ये एक जना मन्त्रीपरिषद्मा जाने भीन भएको भद्र सहमतिलाई अवसरको रुपमा दुरुपयोग गर्दै उनले आफै मन्त्रीपरिषद्मा जान जिद्धि गरेका थिए ।
अन्त्यमा भद्र र बौद्धिक स्वभावका भिमसेनदास प्रधानले भैगो गगन नै मन्त्री होस् भनेर छोडेका थिए । स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङलाई समेत उपेक्षा गर्दै गगनले दर्जनौं निर्णय गरेपछि सिटौला गुटमा गगनको आलोचना भएको थियो ।
उनले आफ्नो गुणगान गाउने पत्रकारको टोलीलाई विदेशमा छोडेर हतारमा नेपाल आउने काम गरेका थिए । अहिले पनि पत्रकारको एउटा टोली स्विजरल्याण्डमा मस्ती मारिरहेको छ । मन्त्रालयको खर्चमा विदेश सयरमा गगनका सल्लाहकार प्रताप पौडेल, पत्रकार राससबाट कल्पना पौडेल, नागरिकबाट दीपक दाहाल, कान्तिपुरबाट अतुल मिश्र अहिले पनि विदेशमै छन्, खबर जनप्रहारमा उल्लेख छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएको थापा पाउना साथ थापा हतार हतार स्वीजरल्याण्डबाट नेपाल फर्किएका छन् । २५ सदस्यीय जम्बो टोलीलाई उचित सेवा सुविधासहित विदेशमा छोडेर थापा नेपाल फर्किएका हुन् ।


