ओखलढुंगामा माओवादी केन्द्रका उम्मेदवार एमालेमा प्रवेश : पूर्वमा एमालेमा प्रवेश गर्नेको जन लहर
ओखलढुंगा, जेठ १६ – ओखलढुंगामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नै एमालेमा प्रवेश गरेका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ५ का वडा सदस्यका उम्मेदवार थकप्रसाद दाहाल एमालेमा प्रवेश गर्नुभएको हो ।

दाहालसहित माओवादी केन्द्र र कांग्रेसका केही नेताहरु एमालेमा प्रवेश गरेका छन् । एमाले महासचिव ईश्वर पोखरेलले सिद्धिचरण नगरपालिकाबाट एमाले उम्मेदवारहरु घोषणा गर्दै पार्टी प्रवेश गराउनुभएको हो ।
माओवादी केन्द्रको धोकापूर्ण राजनीतिले आफू एमालेमा प्रवेश गरेको माओवादी केन्द्रका उम्मेदवार दाहालले बताउनुभयो । आफू अब उम्मेदवार नबन्ने र यस अघि नै घोषित एमालेका उम्मेदवारलाई जिताउन लागि पर्ने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका वडा सभापति, उपसभापति र तरुण दलका सचिवलगायत सिद्धिचरण नगरपालिकाको रुम्जाटारमा वडा नं. ४ का विभिन्न पार्टीबाट तीन सय २५ जना एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिव शंकर कट्वालले बताउनुभयो ।
एमालेमा प्रवेश गर्नेहरुको नाम रेडियोबाट सार्वजनिक समेत गरिएको थियो ।
एमाले महासचिव पोखरेल पार्टी प्रवेश गराउने कार्यक्रममा सहभागी हुन दुई दिन ओखलढुंगा बस्नुभएको थियो ।
एमालेले जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरणमा जिल्ला अध्यक्ष मोहन श्रेष्ठको नेतृत्वमा १२ वटै वडामा उम्मेदवार तय गरेको छ ।


