‘प्रचण्ड’ले बालुवाटारमा बनाएको योजनाअनुसार नै भरतपुरमा दुई वाईसीएलले मतपत्र लुटेका हुन् : केपी ओली
१६ जेठ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई अहिले सरकारमा जान हतार नभएको भन्दै मंसिरमा तीनवटै तहको निर्वाचन गराएपछि बहुमतसहित मुलगेटबाट सिंहदरबार छिर्ने दाबी गरे ।

काठमाडौँ महानगरपालिकामा एमालेले बहुमत वडासहित मेयर जितेपछि त्यसको खुशीयालीमा बनाएको विजयी सभालाई सम्वोधन गर्दै ओलीले त्यस्तो बताएका हुन् । ‘काठमाडौँमा अन्य सबै दल मिलाउदा पनि एमालेको भन्दा कम हुन्छ भन्नेमा म पहिला नै ढुक्क थिएँ,’ ओलीले भने, ‘विद्यासुन्दर शाक्यले त्यसैलाई प्रमाणित गर्नुभयो ।’
ओलीले काठमाडौँ महानगरपालिकामा काम गर्ने टिम चुनिएको भन्दै पाँच वर्षे कार्यकाल भ्रष्टाचार नगरी पूरा गरेर गर्ने दाबी गरे । ‘यो टीमले भ्रष्टाचारको छिटा पनि पर्न दिदैन,’ उनले भने, ‘सम्वृद्ध शुखी काठमाडौँ हाम्रो नारा हो । काठमाडौँका लागि एमाले हजार वाटको विजुली हो । यसले विकास र सम्वृद्धिमा त्यस्तै उज्यालो दिन्छ ।’ उनले एमालेको प्रष्ट अडानकै कारण तीन प्रदेशको परिणाम सकारात्मक आएको पनि दाबी गरे ।
दुई वाइसीएलले मतपत्र लुटे
ओलीले भरतपुर महानगरपालिकामा एमालेले जित्ने निश्चित भएपछि वाइसीएलका दुई जनाले बालुवाटारकै योजनामा मतपत्र लुट्ने प्रयास गरेको आरोप लगाए । ‘हार्ने भएपछि बालुवाटारको योजनामा दुईवटा वाइसीएलले मतपत्र लुटे,’ अहिले त्यही वाहनामा पुनः निर्वाचन गर्ने षडयन्त्र भएको छ । यो एमालेलाई स्वीकार्य छैन ।’ उनले आफ्नी छोरी रेणु दाहाललाई जिताउन प्रचण्डले बालुवाटारमै योजना बनाएर वाइसीएल प्रयोग गरेको आरोप लगाए । उनले पतपत्र कब्जा नभएको भन्दै पुनः निर्वाचन गर्ने कुरा नमान्ने बताए ।
तराईमा ढुंगा चलाएर निर्वाचनमा जाने ?
ओलीले सरकारले अशार ९ गते निर्वाचन गर्ने घोषणा गरेर गलत गरेको आरोप लगाए । ‘वर्षाका बेला तराईमा ढुंगा चलाएर हिड्नु पर्ने बाध्यता हुन्छ,’ ओलीले भने, ‘के मतदाताले ढुंगा चढेर भोट हाल्न जाने ?’ उनले प्रचण्डलाई कुनै ज्योतिषले अशार ९ मा निर्वाचन गर्दा राम्रो हुने भनेकाले त्यसै गरेको हुन सक्ने बताए ।
कति जना विवाह गर्दा पदवी पाईन्छ प्रधानमन्त्रीजी ?
ओलीले अहिले विभिन्न खालका मानपदवी सरकारले मनपरी बाँढेको भन्दै सरकारको आलोचना गरे । ‘कति जना विवाह गर्दा मानपदवी पाइन्छ प्रधानमन्त्रीजी,’ उनले प्रचण्डपुत्र प्रकाशप्रति लक्षित गर्दै भने, ‘मानपदवीकै वेइज्जत भयो ।’


