यी हुन धरान ९ कांग्रेसबाट दुई छापे सदस्यमा लडेका सरदरत्न पार्थिव जस्को एक मतले मुहार फेरियो…

धरानको चुनावी मतपरिणाम कसैको लागि रोचक र कसैको लागि घोचक बनेको छ । कसैले आफ्नै मत मात्रै पाउँदै एतिहासिक पात्र बनेका छन् भने कसैले त्यही एकमतले इतिहास रचेका छन् ।

एक मतले जितेका सरदरत्न पार्थिव

यस्तै रोचक भएको छ धरानको मेयर पदका प्रत्यासी स्वतन्त्र उम्मेदवार श्रीकृष्ण उदासको । उनले आफ्नो मत भन्दा अर्को मत प्राप्त गरेनन् । उनले पारिवारिक मतसमेत नपाएको देखिएको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार उनले एक मत मात्रै पाएका थिए । उनको चुनाव चिन्ह व्याट्री थियो । उनी नेवार एकता समाज धरान वडा नम्बर ४ का सचिवसमेत हुन् । तर, उनले आफ्नो समुदायको भोटसमेत नपाएको उनको मतपरिणमले स्पष्ट पार्दछ । ‘मैले कति मत प्राप्त गरे मलाई नै थाहा छैन् ।’ उनले फोनमा भने । स्वतन्त्रबाट उठेका उनले आफ्नै मात्रै मत पाउँदै धरानको मतपरिणामको इतिहासमा नयाँ अध्याय लेखेका छन् ।

त्यस्तै अर्का पात्र छन् जसले एक मतले इतिहास रच्न सफल भएका छन् । धरानको १ नम्बर वडादेखि ८ नम्बर वडासम्म एउटै प्यानलले जितिरहँदा धरान ९ मा ब्रेक गर्दै ‘डब्बल रेकर्ड’ बनाएका छन् । जसले एक मतले आफ्नो जित सुनिश्चित गरेका छन् । ती सदस्य हुन् नेपाली कांग्रेसबाट दुई छापे सदस्यमा लडेका सरदरत्न पार्थिव । उनले निकटतम प्रतिद्धन्द्धी एमालेका सदस्य रामकुमार दासलाई एक मतले पछाडी पार्दै जित निश्चित गरे । पार्थिवले ६६१ मत प्राप्त गर्दा दासले ६६० मत प्राप्त गरेका थिए । ‘एकमतले जित्छु भन्ने सोचकै थिइन्, केही फरक नै हुन्छ भन्ने सोचेका थिएँ, यति क्लोजमा जान्छ भनेर चिताएको थिइन ।’ उनी भन्छन् ।

वडावासीले केही गर्छ भनेर विश्वास गरेर मत दिएको देखिएको उनले बताए । उनले नै प्यानलै विजेता बन्ने रेकर्डसमेत ‘ब्रेक’ गरेका थिए । पराजित बनेका दासले आफ्नो प्यानलै विजेता बन्ने सुनिश्चित भएकाले हार्ने सम्भावना नै नदेखेको बताए । ‘त्यसमा पनि एकमतले हारजित हुन्छ भन्ने सोचेकै थिइन ।’ उनी भन्छन्, ‘हार्छु भन्ने कल्पनामै थिएन् । जित्छु नै भन्ने थियो ।’ पार्टीका साथीहरुले जातिलाई भोट दिइएको देखिएको उनले बताए । ‘पार्टीकै साथीहरुबाट जातिगत भोट गएको देखियो ।’ उनले थपे । त्यही कारण पनि आफूले पराजय भोगेको उनले बताए ।

धरानमा २.०६ प्रतिशत मत बदर
धरानमा २ दशमलव ०६ प्रतिशत पूर्ण मत बदर भएको निर्वाचन कार्यालय धरानले जनाएको छ । ‘अन्यको स्थानीय तहको तुलनामा धरानमा धेरै कम हो ।’ निर्वाचन अधिकृत कमलबहादुर थापाले भने ।

उनका अनुसार धरानमा ११ सय १ मत पूर्ण रुपमा बदर भएको छ । आंशिक रुपमा केही भएका छन् । पूर्ण मत बदर हुनुमा उनको विचारमा मतदाता शिक्षाको कमीको कारण समस्या आएको हो । ‘कस्तो मत संकेत गदर्ना बदर र सदर हुन्छ भन्ने पनि ज्ञान नभएको देखियो ।’ उनले भने । कतिपय मतपत्रमा ल्याप्चेसमेत हानेको भेटिएको निर्वाचन कार्यालयको भनाइ छ ।

मतपत्र बदर हुनुमा अर्को कारण भने आफूले रोजेको मान्छेलाई हाल्ने हुँदा एउटै लाइनमा भएका चुनाव चिन्हमा मत हालेको कारणले पनि बदर भएको देखिएको कार्यालयले बताएको छ । पहिलो चरणको निर्वाचनमा ११ दशमलव ८६ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

राप्रपा र संघीय फोरमको सून्य उपस्थिति
देशको चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले धरानको कुनै पनि वडाहरुमा आफ्नो उपस्थिति देखाउन सकेन । वडागत रुपमा मात्रै हैन, मेयर उपमेयर पदमा पनि सन्तोषजनक भोट ल्याउन नसकेको हो । मेयरका उम्मेदवार तारा शाक्यले जम्मा ३४६ मत प्राप्त गरेकी थिइन् भने उपमेयरका उम्मेदवार प्रकाश राईले ५०४ मत प्राप्त गरेका छन् । तर, उम्मेदवारहरुले हाल पाएको मत एकदमै न्युन भएको राप्रपाका नगर अध्यक्ष जुद्ध लोहनी बताउँछन् । उनले पार्टी भित्रै अन्तरघात र सहयोग नगरेका कारणले आफ्ना मेयर तथा सदस्यहरुले मत प्राप्त नगरेको बताए । उनका अनुसार धरानमा करिव ३५ सय भन्दा बढी मत राप्रपाको मेयर तथा उपमेयरले प्राप्त गर्ने मत हो ।

त्यस्तै ८ वटा दलहरुसँग गठबन्धन गरेको संघीय समाजवादी पार्टीले समेत कुनै पनि वडाहरुमा आफ्नो उपस्थिति देखाउन सकेन । धरान १८ मा सदस्य पदमा जितको नजिक पुगिरहँदा ६ मतको अन्तरले एमालेका सदस्य विजयी बनेका थिए । उपमेयरका उम्मेदवार पारस काङमाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना सदस्य सीता राईलाई बधाई ज्ञापनसमेत गरिसकेका थिए । तर, अन्तमा उनले पोष्टसमेत डिलिट गरेका थिए । उक्त पदमा जगदीप सुनुवारसँग हार बेर्होन पुगेकी थिइन् । उपमेयरमा उठेका राई भन्छन्, ‘गठबन्धन अधिराज्यव्यापी रुपमै पनि फापेको देखिएन् । धरानको सन्दर्भमा गठबन्धनका साथीहरुको इमान्दारिता कम देखियो । माओवादी केन्द्रबाट १० प्रतिशत भोट पनि आएन हामीलाई । अन्य साना दलहरुको पनि सघन उपस्थिति देखिएन ।’

माओवादीले जोगायो नाक
नेकपा माओवादी केन्द्रले धरान १७ मा प्यानलै जित्दै धरानमा आफ्नो फितलो उपस्थिति देखाएको छ । केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) को प्यानलै विजयी बनेको हो । भट्टराईले १८९९ मत प्राप्त गर्दा निकटमत प्रतिद्धन्द्धी एमालेका पूर्णप्रसाद राईले १३९५ मत प्राप्त गरेका थिए । त्यस्तै मिना लावतीले १६५९, फूलमाया परियारले १६३९, सुवास दर्जीले १६५६ र युवराज विष्टले १५७३ मत प्राप्त गरेका थिए । यो बाहेक अन्य वडाहरुमा माओवादी केन्द्रको उपस्थिति रहेको थिएन । – भोजराज श्रेष्ठ / ब्लाष्टखबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।