राप्रपाभित्र चरम द्वन्द, ठूलो दुर्घटना हुनसक्ने संकेत, एकले अर्कोलाई खुइल्याउने मात्र !
काठमाडौं, साउन १ । संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी यति बेला चरम द्वन्दबाट गुज्रिएको छ । पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रीय सदस्यहरु मनोनित गरेपछि पशुपति शमशेर राणा पक्षले निर्णय फिर्ता लिन आग्रह मात्रै गरेको छैन । निर्णय फिर्ता नलिए दुर्घटना हुनसक्ने चेतावनी पनि दिएको ईमेज खबरमा प्रकाशित छ ।

जुट र फुटको लामो पृष्ठभूमि बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पुनः विवाद चर्किएको छ । पार्टी अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपति शम्शेर राणा पक्षबीचको किचलोले राप्रपा फेरि फुटको बाटोतिर जान लागेको त होइन भन्ने आशंका बढाएको छ ।
अध्यक्ष थापाले गत असार ३० गते ४२ जना केन्द्रीय सदस्य मनोनित गरेपछि राणाले विज्ञप्ती नै जारी गरेर त्यसको प्रतिवाद गर्दै सच्चाउन चेतावनी दिएका छन् ।
राप्रपाका दुवै नेताहरुको निजी निवासमा दिनहुँ गुटगत वैठक हुने गरेकाले पनि यी दुवै पक्ष एकले अर्कोलाई खुइल्याउने खेलमा लागेको आभाष हुन्छ । तर राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन चित्त नबुझेका कुरालाई आन्तरिक रुपमा हल गर्न सकिने भए पनि राणाले विज्ञप्ती नै जारी गर्नु दुःखद भएको बताउँछन् ।
पार्टी अध्यक्षले कार्यकारी अधिकार प्रयोग गरेर राणाकै सल्लाह बमोजिम ४२ जना केन्द्रिय समिति मनोनयन गरेको दाबी पनि लिङदेनको छ । थापाले आपूm सत्तामा जानका लागि एकलौटी रुपमा सदस्यहरु मनोनयन गरेको आरोपप्रति पनि उनले विमती जनाए ।
राणा पक्षले मनोनित ४२ जना सदस्यहरुको नाम फिर्ता नलिए पार्टी दुर्घटनामा पर्ने चेतावनी दिइसकेको छ भने थापा पक्षले पनि अडान छाडेको छैन । यस्तो अवस्थामा साउन ४ गते वस्ने केन्द्रिय समितिको वैठकबाटै राप्रपाको आगामी बाटो के हुने भन्ने टुंगो लाग्ने अनुमान गरिएको छ ।


