नयाँशक्ति संघिय समाजवादी फोरमसँग विलय : बाबुराम उपेन्द्रलाई अध्यक्ष मान्न तयार

नयाँ शक्ति र संघिय समाजवादी फोरम चुनाव अघि नै पार्टी एकीकरण गर्ने तयारी

काठमाडौं, साउन ३ । उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच चुनावअघि एकीकरण हुने भएको छ । नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले फोरम नेपालका अध्यक्ष यादवलाई अध्यक्ष स्वीकार गरेको खबर जनताटाईम्सले प्रकाशन गरेको छ ।

एमाओबादीबाट फुटेर नयाँ पार्टी बनाएको २ बर्ष नबित्दै नयाँ शक्ति नेपालबाट भटाभट सबैले पार्टी परित्याग गर्ने क्रम नरोकिरहेका बेला भट्टराईले यस्तो निर्णयमा पुगेका हुन् ।दुई चरणमा भएको स्थानीय तहको निर्वाचनमा एउटै चिह्नमा चुनाव लडेका यी दुवै पार्टी आगामी असोज २ गते हुने स्थानीय तहको चुनावअघि नै एकीकरण हुने सो दलमा आबद्ध नेताहरूले बताएका छन्।

यस विषयमा शीर्ष तहमा छलफल भइरहेको छ । स्थानीय तहको चुनावमा अपेक्षाकृत परिणाम ल्याउन नसकेका दुवै पार्टीले एकीकरण गरेर नै जानुपर्ने निष्कर्ष निकालेको नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य रामकुमार शर्माले बताउनु भयो ।उहाँले भन्नुभयोे, ‘यी दुई पार्टी वैकल्पिक शक्ति हुन् । यी दुई दल मिले मात्र परिवर्तन सम्भव भएकाले एकीकरणका लागि गृहकार्य भइरहेको छ । ’

दुवै पार्टीको केन्द्रीय समितिको बैठकले एकीकरणको विषय टुंगो लगाउने भएको छ । नयाँ शक्तिको केन्द्रीय समितिको बैठक साउन ९ र १० तथा फोरम नेपालको केन्द्रीय समितिको बैठक ११ र १२ गते बस्ने भएको छ । सोही बैठकबाट एकीकरण कहिले गर्ने विषयमा निर्णय गर्ने नेता शर्माले बताउनु भयो । आइतबारमात्रै सकिएको फोरम नेपालको राजनीतिक समितिको बैठकमा पनि दुई दलबीच एकीकरणको विषयमा छलफल भएको थियो ।

एकीकरणको कुरा धेरै दिनदेखि थाती रहेको हुनाले यसलाई चाँडै टुंगो लगाउनुपर्ने पार्टीका अध्यक्ष उपेन्द्र यादवले बैठकमा राखेका थिए । नयाँ शक्ति नेपालबाहेक अन्य दलहरूसँग पनि एकीकरणको कुरा भइरहेको पनि बैठकमा उहाँले जानकारी दिनुभयो ।

राजनीतिक समितिका सदस्य विजय यादवले नयाँ शक्तिसँग धेरै पहिलादेखि एकीकरणको कुरा चलिरहेको र अब यसलाई कुनै टुंगो लगाउनुपर्ने बताउनु भयो । स्रोतका अनुसार नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले फोरम नेपालका अध्यक्ष यादवलाई अध्यक्ष स्वीकार गरिसकेका छन, तर पार्टीलाई कुन प्रक्रियाबाट सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।