उत्तर कोरियालाई एक्ल्याउने संकेत !
एजेन्सी, १४ भदौ । उत्तर कोरियाले जापानी हवाइ क्षेत्र हुँदै मिसाइल परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघले आपतकालीन बैठक बोलाएको छ । बैठकअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले मिसाइल परीक्षण जापानको सुरक्षा र स्थिरतालाई नै चुनौती दिनु रहेको बताएका छन् ।

उत्तर कोरियाका कारण उत्पन्न तनाव कम गर्ने र उसका गतिविधि नियन्त्रण गर्नेबारे छलफल गर्न बैठक बोलाइएको गुटेरेशको भनाई छ । उत्तर कोरियालाई अन्तर्राष्ट्रिय नियम कानूनको पालना गर्न पनि उनले अपिल गरेका छन् ।
बैठकअघि राष्ट्रसंघका लागि अमेरिकी राजदुत निकी हेलीले उत्तर कोरियामाथि अब कुनै गम्भीर कारवाही गर्नुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ । उनले भने, ‘जापानमा १३ करोड मानिस बस्छन्, कुनै पनि नागरिकको टाउका माथिबाट मिसाइल जानु हुँदैनथ्यो ।’
उत्तर कोरियाले हिजो प्रहार गरेको मिसाइल २७ सय किलोमिटर दुरी पार गर्दै जापानको होकाइदो द्वीपमाथिबाट समुन्द्रमा खसेको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले गरेको नयाँ मिसाइल परीक्षणले उसको छिमेकी जापान र संयुक्त राष्ट्रसंघको अपमान भएको टिप्पणी गरेका छन् ।
ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा ट्रम्पले उत्तर कोरियाले दिन खोजेको सन्देश विश्व समुदायले प्रष्ट बुझेको र सबै विकल्प माथि विचार गरिने बताएका छन् ।


