स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका सहायक प्रजिअ लाई जिम्मेवारीबाट हटाइयो

काठमाण्डौं, १९ भदौ । म्याद नाघेको म्यांगो पल्प (आँपको गुदी) प्रयोग गरी मानव स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) लाई जिम्मेवारीबाट हटाइएको छ।

लाखौं उपभोक्ताको ज्यानलाई जोखिमबाट जोगाउन खोज्ने सहायक प्रजिअ प्रेमप्रसाद लुइँटेललाई उद्योगमा छापा मारेको चार दिनपछि अन्तरमन्त्रालय सरुवा गरिएको हो। म्याद नाघेको म्यांगो पल्प प्रयोग गरी गुणस्तरहीन फ्रुटी बनाउँदै गरेको गोप्य सुराकीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा भदौ १२ गते सहायक प्रजिअ लुइँटेलले दलबलसहित सतुंगलस्थित दुगड फुड एन्ड बेभरेज प्राइभेट लिमिटेडमा छापा मारेका थिए।

पछिल्लो ६ वर्षदेखि गृह मन्त्रालयका विभिन्न तहमा रहेर काम गर्दै आएका लुइँटेललाई फ्रुटी काण्डमा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन नदिन ‘सुनियोजित’ रूपमा गृहबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पठाइएको हो। लुइँटेलले अनुसन्धान गरी कालोबजारी ऐन र मुलुकी ऐनको ठगी महलअन्तर्गत उक्त उद्योगका सञ्चालक माल्चन दुगडलाई नै अधिकतम कैद र बिगोबमोजिम जरिवाना गराउने तयारी गरेका थिए।

स्रोतका अनुसार फ्रुटी काण्डलाई प्रभावहीन बनाएर दोषी व्यवसायीलाई उन्मुक्ति दिन लुइँटेललाई जिम्मेवारीबाट हटाएर भदौ १६ मा स्थानीय विकासमा पठाइएको थियो। यसअघि पनि उपभोक्तासम्बन्धी मुद्दामा व्यवसायीलाई उन्मुक्ति दिने नियतले व्यवसायी र राजनीतिकर्मीको मिलेमतोमा धारा तेलको मूल्य प्रकरणमा तत्कालीन प्रजिअ एकनारायण अर्याल र मिठाईमा जनावरको बोसो मिसावट प्रकरणमा तत्कालीन प्रजिअ लक्ष्मी ढकालको सरुवा गरेर मुद्दालाई प्रभावहीन बनाइएको थियो।

सहायक सिडिओ बजार संरक्षक अधिकृत हुने व्यवस्था छ। सोही हैसियतमा सूचनाका आधारमा उद्योगमा छापा मारेर फ्रुटीमा प्रयोग हुने म्याद नाघेको म्यांगो पल्पको चार सय २६ वटा सिल प्याक ड्रमसहित करिब डेढ लाख तयारी फ्रुटीको पोका बरामद गरिएको थियो। एक ड्रममा २ सय २३ किलो म्यांगो पल्प हुन्छ। स्रोतका अनुसार बरामद गरिएको ड्रमबाट थप ६ लाख थान फ्रुटीको पोका तयार गरी ६ करोड मूल्य बराबरको कारोबार गर्ने उद्योगले अपेक्षा गरेको थियो। छापा मारेकै दिन अनुगमन टोलीले उद्योग बन्द गराएको थियो। म्याद नाघेको कच्चा पदार्थलाई मन्द विष भनिन्छ।

डेढ महिनाअघि म्याद नाघेको नेचुरल टोटापुरी म्यांगो पल्प छापा मार्ने क्रममा भेटिएको थियो। सन् २०१५ को जुलाईमा तयार भएको र दुई वर्ष म्याद भएको उक्त म्यांगो पल्पको प्रयोग गरी उद्योगले धमाधम फ्रुटी जुस तयार गरेर बजारमा पठाउँदै आएको थियो। लुइँटेलले पछिल्लो समय सुर्तीजन्य, मदिराजन्य, रात्रिकालीन क्लब, वेश्यावृत्ति तथा मिसावटलगायत विकृति रोक्न विशेष अप्रेसन सुरु गर्न लागेका थिए। सोही अप्रेसन क्रममा दुगडको उद्योगमा उनको टोलीले छापा मारेको थियो।

दुई वर्षअघि पनि सोही उद्योगमा सरकारले अनुगमन गरेको थियो। स्रोतका अनुसार तत्कालीन समयमा फ्रुटीको पोका फुलेको अवस्थामा फेला पारिएको थियो। त्यो बेला पनि उद्योग बन्द गरी खाद्य ऐनअनुसार दुई हजार रुपैयाँ मात्रै जरिवाना गरेर उद्योग सञ्चालनमा ल्याइएको थियो। त्यो घटना सेलाउन नपाउँदै उक्त उद्योगले म्याद नाघेको कच्चा पदार्थ प्रयोग गर्ने गरेको घटना बाहिर आएको हो।- अन्नपूर्ण पोस्टबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।