माओवादी केन्द्रका २०० विद्यार्थी सुन्धाराका होटलमा बन्दी

काठमाण्डौ, १९ भदौ । पहिलो पटक निर्वाचनमार्फत नेतृत्व चयन गरेको माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका धेरै जिल्लाबाट सम्मेलनमा सहभागी हुन राजधानी आएका प्रतिनिधि आर्थिक अभावका कारण घर फर्कन पाएका छैनन् । सम्मेलन सकिएको झन्डै एक साता बित्दासमेत होटलमा खाएको, बसेको पैसा र बस भाडा नहुँदा प्रतिनिधिहरु गृह जिल्ला फर्कन नसकेका हुन् ।

समयमै घर फर्कन नपाउँदा कतिपय विद्यार्थीको नियमित पढाई प्रभावित भएको छ । प्रमाणपत्र तहको परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीसमेत घर फर्कन पाएका छैनन् । नेतृत्वले बाटो खर्चको व्यवस्था नगरिदिंदा प्रतिनिधिहरु परीक्षा दिने अवसरबाट बञ्चित हुने अवस्था आएको २१ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित बझाङका दीपक रोकायाले बताए ।

आर्थिक अभावमा घर फर्कन नपाएका विद्यार्थीहरु सुन्धारा, बल्खु र कलंकीका विभिन्न होटलमा थुनिएको रोकायले जनाए । होटल सञ्चालकले पैसा नतिरेको भन्दै प्रतिनिधिलाई होटल बाहिर निस्कनसमेत नदिएको उनले बताए ।
बानेश्वरमा भेटिएका रोकायले होटलमा झोला, महत्वपूर्ण कागजात जमानीमा राखेर पैसा जुटाउन नेता खोज्दै हिंडेको उल्लेख गरे ।

उनका अनुसार खासगरी सुदुर तथा मध्यपश्चिमका जिल्लाहरु बझाङ, बाजुरा, डोटी, बैतडी, डडेल्धुरा, कैलाली, अछाम, दाङ, रोल्पा, जाजरकोट र कालिकोटका प्रतिनिधि आयोजकले होटललाई दिनुपर्ने पैसा नबुझाएका कारण घर फर्कन नपाएका हुन् ।

उनीहरुको संख्या करिब दुई सय छ । क्रान्तिकारीले सम्मेलनमा सहभागी हुन देशभरबाट आएका करिब २५ सय प्रतिनिधिलाई राजधानीका विभिन्न होटलमा राखेको थियो । घर फर्कन नपाएकाहरुले आफ्ना गृहजिल्ला र प्रदेशका नेता तथा विद्यार्थी नेतृत्व समक्ष पटक–पटक होटलबाट बाहिर निकालिदिन टेलिफोन र एसएमएसमार्फत आग्रह गरेका छन् । तर, नेताहरुले वेवास्ता गरेको प्रतिनिधिहरु बताउँछन् ।

‘हामीले पटक–पटक भनिसक्यौं, तर होटलबाट निकल्ने काम भएन’ रोकायले भने । निर्वाचनअघि आफू पक्षधर उम्मेदवारलाई जिताउन टेलिफोन गर्ने नेताहरुसमेत अहिले फोन उठाउन छाडेको उनले बताए ।

सम्मेलनबाट निर्वाचित अध्यक्ष रञ्जित तामाङले प्रतिनिधिहरु होटलमै बसिरहेको स्वीकार गरे । उनले अधिकांश जिल्लाका प्रतिनिधि घर फर्किइसकेको र बाँकी रहेका केही पनि मंगलबार सम्ममा गइसक्ने जनाए ।

तामाङ गृहमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मालाई २३ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । – काठमाण्टू टुडेबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖