तीन दिन सम्म युवतीलाई बन्धक बनाएर बलात्कार र हत्या गर्नेलाई कारबाहीको माग सहित प्रदर्शन

कालिकोट, भाद्र २० । दैलेख खिड्कीज्युलामा एक युवतीको बलात्कारपछि हत्या भएको छ । ट्रक चालकले त्यहाँको एक होटलमा युवतीलाई तीन दिन बन्धक बनाएर बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । तिलागुफा–५ कालिकोटकी १९ वर्षीया मृतक एसईई सकेर सुर्खेतमा सबओभरसियर अध्ययन गरिरहेकी थिइन् ।

भदौ १४ को बिहान सुर्खेतबाट कालिकोट जाने क्रममा वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलका ना५ख १८८७ नम्बरको ट्रकका साहू तथा चालक लक्ष्मीप्रसाद आचार्यले ‘म तिम्रो घरसम्म पुर्‍याइदिन्छु बसमा पैसा किन तिर्ने’ भनेर आफ्नो ट्रकमा चढाएर ल्याएको मृतकका दाजु नाता पर्ने उपेन्द्र न्यौपानेले बताए । सबओभरसियर पढाउन बुवा लालु न्यौपानेले गत साउनमा ६० हजार रुपैयाँ ऋण खोजेर सुर्खेत पठाएका थिए ।

गाउँमा देवताको मेला (हलाढुंगा मालिका) को जात्रा हेर्न र दसैं मनाउन भनेर घर आउने क्रममा आचार्यले भाञ्जी नाता लगाई फकाएर ल्याएको उपेन्द्रले सुनाए । उपेन्द्रका अनुसार कर्णाली राजमार्गको गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएपछि सँगै जाउँला भनेर १५ गते बेलुका खिड्कीज्युला फर्काएर आले होटलको तेस्रो तलाको एउटा कोठा लिएर राखेका थिए ।

पहिरोले सडक अवरुद्ध भएपछि हिँडेर जान्छु भन्दा पनि आउन नदिएर उल्टो बाटो फर्काएर खिड्कीज्युला लगेर होटलमा बन्धक बनाएको उपेन्द्र बताउँछन् । ‘आले होटलको एकान्त कोठामा लगेर बलात्कारपछि मर्न लागेपछि मुखमा विष हालेका हुन्,’ उनले भने, ‘१७ गते बिहान ५ बजे होटलका साहूलाई विष खाई भनेर सुतेको कोठाबाट उठाएर मिनी ट्रकमा हालेर जंगलमा फाल्ने उद्देश्यले ल्याउने क्रममा राकममा टायर पन्चर भएपछि स्थानीयले मरणासन्न अवस्थाकी युवती देखेपछि सोधीखोजी गर्दा विष खाएकी हो, औषधि गर्न ल्याएको भन्दै महतो मेडिकलमा लगेका थिए ।

मेडिकलले ‘सिरियस केस’ भन्दै प्रहरीलाई खबर गरेपछि चालकलाई पक्राउ गरी दैलेख लगिएको हो ।’ प्रहरीका अनुसार युवतीलाई उपचारका लागि दैलेख लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दैलेखको आठबिस नगरपालिका–८ मा पर्ने खिड्कीज्युलास्थित होटलमा बलात्कारपछि किशोरीको हत्या गरिएको भन्दै अधिकारकर्मी अप्सरा विष्टले कारबाहीको माग गरिन् ।

प्रहरीले होटलको मुचुल्का उठाएर सञ्चालक कृष्ण आलेमगरलाई पनि पक्राउ गरेको छ । युवतीको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको थियो ।

‘होटलमा राखेर बलात्कारपछि विष खुवाएर मारेको जस्तो देखिन्छ,’ दैलेखका प्रहरी प्रमुख सुरज पौडेलले भने, ‘अनुसन्धान जारी छ ।’ उनले अनुसन्धानमा असर पर्ने भएकाले संलग्न को–को थिए भन्नेबारे अनुसन्धान भइरहेको सुनाए । स्थानीयले बलात्कारमा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने आशंका गरेका छन् ।

कारबाहीको मागसहित प्रदर्शन

हत्याको विरोधमा सोमबार कालिकोटमा प्रदर्शन गरिएको छ । विरोध र्‍यालीमा नागरिक समाज, मानव अधिकारकर्मी, सञ्चारकर्मी र युवतीका आफन्तले बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । ट्रक साहू तथा चालक आचार्यले युवतीलाई होटलमा बन्धक बनाएर बलात्कारपछि मरणासन्न हुँदा मुखमा विष हालिदिई हत्या गरेको आफन्तको आरोप छ ।

आफन्तले सामूहिक बलात्कारपछि हत्या गरेको आशंका पनि गरेका छन् । मृतकका आफन्त लीलाराम न्यौपानेले सुनियोजित रूपमा सुर्खेतबाटै फकाएर ल्याई बलात्कारपछि हत्या गरेको बताए । नागरिक समाजका अगुवा दमनराज बमले बलात्कारपछि हत्या गर्नेलाई कडा कारबाहीको माग गरे । ‘ट्रकवालाले पुरुषलाई इमर्जेन्सी छ भने पनि ठाउँ छैन भनेर चढाउँदैनन्,’ उनले भने, ‘महिला देखेपछि कहाँ जाने हो ? म पुर्‍याइदिन्छु भन्दै चढाउने गर्छन् ।’ – कान्तिपुरबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।