४ अरब राष्ट्रको प्रतिबन्ध सामना गरिरहेको कतारले साउदी अरेबियाका युवराजलाई गर्यो यस्तो आह्वान
कतार, भदौ २४ । चार अरब राष्ट्रको प्रतिबन्ध सामना गरिरहेको कतारले समस्या समाधानका लागि साउदी अरेबियाका युवराजलाई वार्ताका लागि आह्वान गरेको छ ।

छिमेकी चार मुलुकले प्रतिबन्ध लगाएर कतारसँगको सम्बन्ध तोडेपछि उत्पन्न परिस्थितिको समाधानका लागि कतारले साउदी अरेबियाका युवराजलाई वार्तामा बोलाएको दुवै देशका सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कतारका अमिर शेख तमिम विन हमाद अल–थानीले आफू साउदी तथा अरु तीन राष्ट्रसँग समस्या समाधानका बारेमा छलफल गर्न तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कतारका अमिरले साउदी अरेबियाका युवराज मोहम्मद विन सलमानलाई टेलिफोन गरेर वार्ताका लागि आह्वान गरेका हुन् । गत जुन ५ मा साउदी अरेबिया, बहराइन, इजिप्ट र युएईले कतारसँगको सम्बन्ध तोडेका थिए ।
उनीहरुले कतारले आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै आएका छन् । तर कतारले भने यो आरोप अस्वीकार गर्दै आएको छ । एजेन्सी


