‘सूर्य’ चिन्ह साझा बनाए यस्तो फाइदा हुन्छ बाम गठबन्धनलाई…
काठमाडौं । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिन्ह सूर्य राख्ने सहमति भए पनि निर्वाचन आयोगमा दलदर्ताको प्राविधिक कारण देखाउँदै बाम तथा देशभक्त गठबन्धनले एमाले र माओवादीका उम्मेदवारहरुले आगामी चुनावमा आ–आफ्नै चिन्हमा चुनाव लड्ने वताएका छन् । तर, यसको नोक्सान भने उनीहरुलाई नै पर्ने देखिएको छ ।
एउटै चिन्हमा चुनाव लड्दा चुनावअघि नै दलको पूर्ववर्ती हैसियत कायम नरहने भन्ने सामान्य चिन्ताले मात्रै उनीहरुले सूर्य चिन्हलाई साझा नबनाएका हुन् । तर, भविश्यमा पार्टी एकता गर्ने निश्चित भइसकेपछि अलग चुनाव चिन्हमा जाँदा मतदाता अलमलमा पर्ने र त्यसको नकारात्मक नतिजा आउन सक्नेतिर उनीहरुको ध्यान गएको देखिंदैन । उम्मेदवार साझा भए पनि चुनाव चिन्ह अलग हुँदा उनीहरुलाई प्रचारमा जान र मतदाता शिक्षा दिन पनि अप्ठ्यारो हुन्छ । एउटै चिन्ह लिएर देशभर चुनाव प्रचारमा जाँदा दुवै दलका कार्यकर्तामा विभाजित मनोविज्ञान पनि छिटै मेटिन्छ भने मतदाता शिक्षा पनि प्रभावकारी हुन्छ । यसले खासगरी माओवादीका तर्फबाट मैदानमा भिड्ने उम्मेदवारलाई फाइदा हुन्छ । एमाले मतदाताका मत आफूतिर धेरै तान्न सूर्य चिन्ह लिएरै उम्मेदवार हुँदा जति सजिलो हुन्छ हंसिया हथौडा लिएर चुनावमा जाँदा त्यो भन्दा गाह्रो हुन्छ । दल दर्ता भइसकेकाले जितेका सवै उम्मेदवार प्राविधिक रुपमा एमालेको संसदीय दलमा गणना हुने कुराले मात्रै सूर्य चिन्ह लिन आनाकानी गर्नु माओवादीका उम्मेदवारहरुलाई नै घाटा पुर्याउनु हो ।
भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको नतिजाका आधारमा हेर्दा पनि दुवै दलले एउटै चिन्ह लिएर चुनावमा जाँदा त्यसको प्रत्यक्ष लाभ उठाउन सक्छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको उम्मेदवार र मत परिणाम भर्खरै सार्वजनिक गरेको छ । जसको आधारमा हेर्दा एमाले र माओवादीले एउटै चुनाव चिन्ह लिए दुईतिहाई सिट जित्ने करिव निश्चित देखिन्छ ।
यसरी फाइदा हुन्छ बाम गठबन्धनलाई
तीन चरणमा गरी देशभरका ७५३ स्थानीय तहमा ३५ हजार ४१ प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको आधिकारिक नतिजा अनुसार देशभरबाट एमालेले ३० लाख ६५ हजार ५ सय ४० मत ल्याएको देखिन्छ भने एमालेका कुल १४ हजार ९८ प्रतिनिधि निर्वाचित भएका छन् । यस्तै तेस्रो स्थानमा रहेको माओवादीले १६ लाख २ हजार ४५० मत ल्याएको देखिन्छ भने उसका ५ हजार ४ सय ४१ प्रतिनिधि निर्वाचित भएका छन् ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले २९ लाख, ४२ हजार २४० मत पाएको छ । एमाले र माओवादीले पाएको मत जोड्दा कांग्रेस भन्दा अहिलेको बाम गठबन्धन १५ लाख २५ हजार ७५० मतले अगाडि देखिन्छ । कांग्रेस भन्दा एमाले एक्लै करिव ८४ हजार मतले अगाडि देखिन्छ । एमाले र माओवादीले स्थानीय तहमा पाएको मत जोड्दा ४६ लाख ६७ हजार ९९० मत पुग्छ भने त्यसमा नयाँ शक्ति पार्टीले पाएको मत समेत जोडिन्छ ।
स्थानीय तहमा एमाले र माओवादीले जितेका कूल जनप्रतिनिधिको संख्या पनि कांग्रेस भन्दा करिव ९ हजार बढी हुन्छन् । एमाले र माओवादीको जोड्दा १९ हजार ५३९ जनप्रतिनिधि निर्वाचित भएका छन् भने कांग्रेसका ११ हजार ४५७ जनप्रतिनिधि निर्वाचित छन् । प्रतिशतका आधारमा जोड्दा एमालेका ४०.२३ प्रतिशत र माओवादीका १५.५३ प्रतिशत जनप्रतिनिधि निर्वाचित भए । कांग्रेसले ३२.६९ प्रतिशत जनप्रतिनिधि जिताएको छ ।
भर्खरै भएको निर्वाचनको यो आकडाले एमाले र माओवादीको गठबन्धनले आगामी चुनावमा दुईतिहाई सिट जित्न सक्ने देखाउँछ । त्यसमाथि एउटै चुनाव चिन्ह हुँदा मतको यो अनुपात बढ्ने देखाउँछ । गत स्थानीय निर्वाचनमा कुल खसेको मतमा धेरै मत बदर भएको देखिन्छ । एउटै चुनाव चिन्हमा मतदान गर्दा यसरी मत बदर हुने सम्भावना कम हुन्छ ।
कांग्रेसले गठबन्धन बनाए पनि कमजोर नै
देशभक्त बामपन्थी गठबन्धन र पार्टी एकताको समेत अभियान चलेपछि कांग्रेसले त्यसलाई अनिष्टकारी भन्दै आफू भने अन्य दलहरुसँग गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । कांग्रेसको गठबन्धनमा संवैधानिक राजतन्त्रको एजेण्डा बोकेको राप्रपा र अन्य क्षेत्रीय दलहरु छन् ।
भर्खरै सम्पन्न स्थानीय चुनावमा तिनीहरुले पाएको मत जोड्दा पनि उनीहरुको एमाले माओवादीको गठबन्धन भन्दा निकै तल देखिन्छ । त्यसमाथि चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले कांग्रेस गठबन्धनमै सामेल हुने नहुनेमा निर्णय लिइसकेको छैन । उसले स्थानीय निर्वाचनमा ३ लाख ८६ हजार ७८३ मत अर्थात ४.२४ प्रतिशत प्राप्त गरेको छ । कांग्रेस गठबन्धनमा सामेल हुन लागेको राप्रपाका २८५ मात्रै प्रतिनिधि निर्वाचित भएका छन् भने २ लाख ९० हजार १५६ मत प्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टीले १ हजार ११२ प्रतिनिधि विजयी गराउँदा पपुलर भोट भने औसतमा २ लाख ५१ हजार ६१५ मत प्राप्त गरेको छ । यस्तै विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले १ लाख २४ हजार ६५४ मत प्राप्त गरेको छ । यी सबै दलको मत जोड्दा पनि एमाले र माओवादीको मतभन्दा निकै तल देखिन्छ । चक्रपथबाट


