देवनायणलाई रिहा नगरे सम्म मोदीको भ्रमण रोक्न अभियानको माग
काठमाडौं । राष्ट्रवादी अभियान नेपालले सप्तरीको तिलाठी निवासी देवनारायण यादवलाई भारतीय प्रहरीले थुनामुक्त नगरेसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण नगराउन सरकारसँग माग गरेको छ । अभियानका अभियन्ता तथा पूर्व सचिव द्वारिकानाथ ढुंगेलले सीमा रक्षाका लागि लडेका नेपाली नागरिकलाई थुनामा राखेर मोदीलाई नेपाल भ्रमण गराउन नहुने जनाउनु भएको हो ।

‘सीमामा भारतीय ज्यादतीका विरुद्ध लडेवापत नेपाली नागरिकलाई पक्राउ गरेर थुन्ने र त्यसप्रति सरकारले केही पनि नबोल्ने कुरा आपत्तीजनक छ’ ढुंगेलले भन्नुभयो, ‘देवनारायण यादव रिहा नभएसम्म मोदीको भ्रमण हुन दिनु हुँदैन ।’ यस्तो गम्भीर विषयमा नेपाल सरकार चुप लागेर बसेको भन्दै अभियानले सरकारको ध्यानाकर्षण गराउनु परेको उहाँले वताउनुभयो ।
गतवर्ष तिलाठीमा भारतीय पक्षले गरेको सीमा हस्तक्षेमा लडेका यादवलाई त्यसैको बदला लिन पक्राउ गरेको पुष्टि भएको छ । नेपाली नागरिकलाई पक्राउ गर्दा पनि खोजी नगर्ने नेपाल सरकारको ब्यवहार आपत्तीजनक रहेको अभियानको ठहर छ । यादवको रिहाई माग गर्दै अभियानले सडक आन्दोलन समेत गरेको छ ।


