नवराज सिलवाल एमाले मा प्रवेश गर्दै भने,- आजबाट म एमालेको सिपाही ! यसरी खोले एमालेमा प्रवेश गर्नुको कारण… (हेर्नुहोस् भिडियो)
करीव ३० वर्षको प्रहरी जीवनमा सधैं जय नेपालको स्यालुट गरेका डीआईजी (राजीनामा दिएका तर, स्वीकृत नभएको) नवराज सिलवाल शुक्रवार फरक भावभंगीमा प्रस्तुत भए । उनकै शब्दमा ‘युगपुरुष’ केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेपछि उनले भाषण टुङ्ग्याउँदै धन्यवाद भने । फेरि के सम्झिए कुन्नि, माइक समातेर हात उठाउँदै भने-लाल सलाम ।
प्रहरीले भन्ने गरेको जय नेपाल शब्दलाई राजनीतिक दलहरुमा कांग्रेसले प्रयोग गर्छ । कांग्रेसबाट अन्यायमा परेको गुनासो गर्दै आएका सिलवालले शुक्रवारबाट बिधिवत रुपमा जय नेपाल शब्द त्यागेर लाल सलाम अँगाले । उनले सम्झी सम्झी लालसलाम भनेपछि बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा ताली र सुसेलाको गडगडाहट सुनियो । पार्टी प्रवेशका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीकै गाडीमा कार्यक्रमस्थल पुगेका सिलवाललाई एमाले कार्यकर्ताले ओलीलाई भन्दा बढी ताली र हुटिङबाट स्वागत गरे । ललितपुर गोदावरीका स्थायी बासिन्दा सिलवाल पार्टी प्रवेश भने काठमाडौं जिल्ला कमिटीको कार्यक्रममार्फत गरे ।
ममाथि राजनीति भयो, त्यसैले राजनीतिमा आएँ
पार्टी प्रवेशपछि बोल्ने समय पाएका सिलवालको भाषण कस्तो होला भन्ने सबैको कौतुहलता थियो । धेरैलाई आश्चर्यमा पार्दै प्रहरी अफिसर सिलवालले विश्व कम्युनिस्ट आन्दोलनका नेता रुसी क्रान्तिका नायक भी आई लेनिनको उद्दरणबाट आफ्नो भाषण शुरु गरे ।
लेनिनको उक्तिलाई अंग्रेजीमा सुनाउँदै उनले भने, ‘यदि तिमीले राजनीतिलाई हस्तक्षेप गरेनौं भने एक दिन तिमीलाई राजनीतिले हस्तक्षेप गर्नेछ भनेर महान लेनिनले भन्नुभएको थियो । वास्तवमा म राजनीतिबाट पीडित भएको सिपाही हुँ । मलाई राजनीतिले हस्तक्षेप गरेपछि मैले राजनीतिमा हस्तक्षेप गर्नैपर्ने भयो । त्यसको लागि उपयुक्त ठाउँ एमाले बाहेक अरु देखिँन ।’
हिजोसम्म राज्यको फौजी संगठनका एक सिपाही सिलवालले लेनिनको उक्तिबाट भाषण शुरु गर्नासाथ एमाले कार्यकर्ताहरुले गडगडाहट ताली बजाए । त्यसपछि उनले भने, ‘म हिजोसम्म राज्यको बफादार सिपाही थिएँ, आजबाट एमालेको इमान्दार सिपाही भएँ । यो देशको सेवा गर्ने उत्साह अझ बढेको छ ।’
सामाजिक सञ्जालहरुमा आफ्नो एमाले प्रवेशबारे बिभिन्न प्रतिक्रिया पाइरहेको भन्दै उनले सोही भाषणमार्फत सबैलाई एकमुष्ठ जवाफ दिन चाहेको बताए । उनले भने, ‘ममाथि अन्याय भयो । मेरो अस्थित्वमाथि प्रहार भयो । न्याय र अस्थित्व जोगाउन एमाले प्रवेश गरेको हुँ, एमाले बाहेक अन्य पार्टीबाट न्याय र नागरिकको अस्थित्व जोगाउन सम्भव छैन ।’
देउवा लोकतन्त्रको खोल ओढेका अलोकतान्त्रिक ?
आईजीपी नियुक्ति प्रकरणमा तत्कालिन कांग्रेस सभापति शेरवहादुर देउवाको कोपभाजनमा परेको गुनासो गर्दै आएका सिलवालले भाषणमा देउवाको नाम त लिएनन् ।
तर, संकेत गर्दै भने, ‘केही व्यक्ति र राजनीतिक पार्टी आफूलाई लोकतन्त्रको मसिहा त भन्छन् । तर, उनीहरु लोकतन्त्रको खोल ओढेका अलोकतान्त्रिक अनुहार रहेछन् ।’
एमाले नै किन प्रवेश गरेको भनेर धेरैले प्रश्न गरेको भन्दै उनले एमाले बाहेक अरु दलबाट अब नेपालको सम्बृद्धि सम्भव नरहेको दाबी गरे । उनले एमालेले समाजवादको वैज्ञानिक ब्याख्या गरेको र सामाजिक न्यायको सन्दर्भमा एमालेको जस्तो नीति अरु दलको नरहेको तर्क गरे ।
बाम गठबन्धन ऐतिहासिक, ओली र प्रचण्ड युगपुरुष
प्रचण्ड प्रधानमन्त्री भएका बेला आईजीपी बन्नबाट बन्चित रहे पनि सिलवालले पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रप्रति कुनै टिप्पणी गरेनन् । बरु उनले हालै भएको एमाले माओवादी एकता प्रक्रियालाई इतिहासकै ठूलो घटना भन्दै यहि बेला एमाले प्रवेश गर्न पाएकोमा गर्व गर्ने बताए ।
उनले भने, ‘संयोगबस म यहि प्रक्रियाको हिस्सा बन्न पाउँदा खुसी छु । यो ऐतिहासिक घटना हो । यो प्रक्रियाका नायक दुवै पार्टीका अध्यक्षहरु युग पुरुषका रुपमा भविष्यमा रहनुहुनेछ । अर्काथरीले पनि गठबन्धन गर्ने भन्न थालेका छन्, त्यो हुन्छ भने पनि ठीकै छ ।’
सिलवाल उम्मेदवार बन्लान् ?
सर्वोच्चबाट मुद्दा हारेसँगै डीआईजी पदबाट दिएको राजीनामा औपचारिक रुपमा स्वीकृत नहुँदै एमाले प्रवेश गरेका सिलवाल आसन्न निर्वाचनमा उम्मेदवार बन्लान् ? यो प्रश्नको जवाफ अझै दुवै पक्षले दिएका छैनन् ।
तर, सिलवालले पार्टी प्रवेश गर्दै आफू मुलुकप्रतिको जिम्मेवारी पूरा गर्न अझ उत्साहित रहेको र पार्टीले उपयुक्त जिम्मेवारी दिनेमा विश्वस्त रहेको बताए ।
पटकपटक ओलीलाई युगपुरुष शब्दबाट सम्बोधन गरेका सिलवालले एमालेका कार्यकर्ताको लोभलोग्दो पंक्ति र अनुशासित संगठनले आफूलाई प्रभावित पारेको बताए । उनले पाएको जिम्मेवारी पार्टीको अनुशासित सिपाहीका रुपमा पूरा गर्ने बताए ।
सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा वा प्रदेशसभाको उम्मेदवार बन्ने चर्चा एमाले वृत्तमा चलिसकेको छ । ओलीले आईजीपी प्रकरणपछि निरन्तर सिलवालको बचाऊमात्र गरेका छैनन्, उनी विरुद्ध सरकारले किर्ते गरेको आरोप समेत लगाउँदै आएका छन् । सम्भवतः उनले सिलवाललाई चुनाव लडाएर देउवालाई देखाउन खोजेका छन् ।
ओलीले भने-अहिले केही नभनौं, हेर्दै जाउँ
एमाले सुप्रिमो ओलीले समारोहमा नै सिलवाललाई महत्वपूर्ण जिम्मेवारी दिने संकेत दिए । उनले सिलवालमाथि अन्याय गर्नेलाई देखाउने ढंगले हेर्दै जाउँ भने ।
ओलीले भने, ‘नवराज सिलवालको व्यक्तित्वका धेरै पाटा छन् । उहाँ भइसकेको तर, हुन नदिइएको आईजीपी, बन्न नदिइएको एआईजी र रोकेर राखिएको डीआइजी पनि हो । अहिले केही भनौं हेर्दै जाऊँ ।’
सिलवालमाथि अन्याय भएकाले न्याय दिइने उनले बताए । एउटा र्डआईजीले न्याय नपाउने र घुस खान्न भन्ने प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने बेथितिपूर्ण अवस्थाबाट मुलुकलाई मुक्त गर्न सबै पीडितहरु एमालेमा गोलबद्ध भएको उनले बताए ।
उनले कसैको नाम त लिएनन् तर, सिलवालको नम्बर किर्ते गर्नेदेखि सुशीला कार्कीलाई महाअभियोग लगाउनेसम्मका हर्कत महिशासुसर प्रवृति भएको टिप्पणी गरे । – अनलाईन खबरबाट


