जितपुर बजारमा माघी मेला र मगरको मौलिक नृत्य, ८ दिन सम्म चल्ने
धनकुटा खबर । माघे संक्रान्तिको अबसर पारेर नेपाल मगर संघ जिल्ला समिति धनकुटाले धनकुटाको जीतपुरमा मगर समुदायको मौलिक साँस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।
माघे सक्रान्तिको अबसर पारेर जितपुर नगरपालिकाको जितपुर बजारमा ८ दिन सम्म चल्ने उक्त माघी मेला कार्यक्रमको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

“मगर समुदायको भाषा, धर्म, संस्कार र इतिहाँसमा साझा पहिचान, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा हाम्रो अभियान” भन्ने मुलनाराको साथ आयोजना गरिएको उक्त कार्यक्रममा नृत्य प्रतियोगितामा धनकुटा जिल्लाका ९ वटा समुहले भाग लिएका थिए ।
सो कार्यक्रमको उत्घाटन धनकुटा जिल्लाका प्रतिनिधिसभाका सांसद राजेन्द्र राईले गरेका थिए । सो अवसरमा वोल्दै प्रमुख अतिथि राईले विभिन्न जातजातिको भाषा, संस्कार, संस्कृति भनेको राष्ट्रको सम्पति भएको वताए ।
उनले आदिवासी जनजातिहरुको भाषा, संस्कार र संस्कृतिलाई संरक्षण गरेर व्यावसायीक रुमा पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय अर्थतन्त्र वलियो हुने वताए ।

उनले धनकुटा जिल्लामा मगर सुमदायको संस्कृतिलाई व्यावसायइकि रुपमा प्रवद्र्धन गर्नको लागी आफ्नो तर्फवाट सक्दो प्रयास गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि एवं नेपाल मगर संघ केन्द्रिय समितिका उपाध्यक्ष कमल पिठाकोटे मगरले नेपालको संविधान २०७२ आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृति संरक्षण गर्नको लागी अधिकार दिन नसकेको वताए ।
उनले नेपालको संविधानले मौलिक अधिकारको मातृभाषा लगायतको मौलिक संस्कृतिलाई वचाउनको लागी मौलिक हकमा वेवास्ता गरेको आरोप लगाएका छन् ।
उनले नेपालको संविधान शंसोधनको विकल्प नरहेको औल्याएका छन् । यसैगरी नेपाल मगर संघका केन्द्रिय सदस्य राम मगरले राज्यले द्धान्द्ध कालमा १४ हजारको मात्र नेपालीको मृत्यु भएको वताए पनि त्यो गलत भएको आरोप लगाए ।
केन्द्रिय सदस्य मगरले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको लागी नेपालमा ३० लाख मगरहरुले वलिदान दिएको वताए । सो अवसरममा उनले मगरात के हो र मगरातको ऐतिहासिकताको विषयमा प्रष्ट पारेका थिए ।
त्यसैगरी नेपाल मगर साँस्कृतिक कलाकार संघका केन्द्रिय अध्यक्ष कविराज मगरले ०६५ सालमा नेपाल मगर संघले ०६५ साल देखी माघ १ गतेको दिनलाई मागी पर्वको रुपमा मनाउने भन्ने निर्णय भए अनुसार मागी पर्व मनाउँदै आएको वताए ।
उनले मगर सुमदायको हुर्रा नृत्यको उदगम स्थल धनकुटाको मुढेवास भएको वताए । उनले माघे संक्रान्तीमा मगर समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुमा आदिम कालमा अन्न वाली नहुँदा वनमा पाईने कन्दमुल, तरुल, गिठा खाएर पुर्खाहरु वाँचेकाले सोही अवस्थालाई सम्झेर माघे संक्रान्ती पर्व मनाइएको वताए ।
सो अवसरमा महालक्ष्मी नगरपािलका प्रमुख परशुराम नेपालले आफ्नो ठाउँको विकास गर्न आफै लागी पर्न नगरवासीलाई आग्रह गरेका छन् ।
उनले नगरको विकासको लागी जतिसुकै मुल्य चुकाएर भए पनि नगरपालिका सहयोग गर्न तयार रहेको वताए । उनले सवै जातिको भाषा, संस्कार संस्कृतिको संरक्षण गर्न नगरपालिका तयार रहेको वताए ।
नेपाल मगर संघ जिल्ला समिति धनकुटाको अध्यक्ष जे.वि.घले मगरको अध्यक्षतमा सम्पन्न उक्त नृत्य प्रतियोगितामा सहभागीले मगर संस्कृतिमा आधार मौलिक नृत्यसंगै मयुर नाच समेत प्रश्तुत् गरेका थिए ।
सो अवसरमा चर्चित दोहोरिगायक प्रसाद खप्तरी मगर, चर्चित लोकगायिका सञ्जु थापा मगरले दोहोरी गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाएको थिए ।
त्यसैगरी नृत्यकार लक्ष्मी समाल मगरले वेजोड नृत्य प्रश्तुत् गरेकी थिइन भने चर्चित मयुर डान्सर कविराज मगरले मयुर डान्स प्रश्तुत् गरेका थिए ।
मगर संघ महालक्ष्मी नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, जिल्लाको सातै तहका मगर समुदायसंग सम्वन्धित संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु र अन्य समुदायको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
बिभिन्न खेल तथा मनोरन्जन संगै सम्पन हुने उक्त माघी मेलाको समापन संगै नृत्य तथा खेलका अन्य बिधाका बिजयीहरुलाई पुरस्कृत गरिने मेला तथा नृत्य आयोजक समितिले जानकारी दिएको छ ।


