‘पढाउने शिक्षकलाई बन्दूक उपहार !’- यस्तो छ ट्रम्पको घोषणा…
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्कुलमा हुने गोलीबारी रोक्न करिब २० प्रतिशत शिक्षकलाई बन्दुक राख्न दिने प्रस्तावमा आफूले विचार गर्ने बताएका छन् । स्कुलमा सुरक्षा व्यवस्था गरिनुपर्ने माग सुनिसकेपछि बुधबार ट्रम्पले ह्वाइटहाउसमा शिक्षकलाई हतियार दिने विकल्प अघि सारेका हुन् ।
गत साता फ्लोरिडाको एक स्कुलमा १७ जनाको ज्यान जानेगरी भएको आक्रमणबाट बच्न सफल व्यक्तिहरुले ट्रम्पलाई आआफ्ना भोगाइ सुनाएका थिए ।
‘बन्दुक चलाउन सिपालु शिक्षक भए भने तिनले आक्रमण तुरुन्तै रोक्न सक्छन्,’ ट्रम्पले भने, ‘पक्कै पनि निकै सिपालु व्यक्तिलाई मात्र बन्दुक दिइन्छ। उनीहरुलाई विशेष तालिम दिइन्छ ।’
‘औसतमा यस्ता आक्रमण तीन मिनेटमा सकिन्छ। तर प्रहरी घटनास्थलमा आइपुग्न पाँचदेखि आठ मिनेट लाग्छ । त्यसबेला त आक्रमण सकिइसकेको हुन्छ । यदि शिक्षकसँग हतियार हुने हो भने उनीहरुले तुरुन्तै आक्रमण अन्त्य गर्न सक्छन्,’ उनले भने ।
ट्रम्पको यस्तो अभिव्यक्तिको पक्ष र विपक्षमा चर्को बहस सुरु भएको छ । अमेरिकामा गोली प्रहारका घटना बढ्न थालेपछि बन्दुक नियन्त्रणको कानुन पारित गराउन दबाब बढ्दै गएको छ ।


