अझै सन्चालनमा आएनन् धनकुटाका सहकारी !
धनकुटा । सहकारीको सम्पूर्ण जिम्मेवारी पाए पनि जनशक्ति अभाव, कार्यालय व्यवस्थापन र कार्य सञ्चालनका लागि आवश्यक प्रक्रिया नहुँदा स्थानीय तहले कार्य सञ्चालन गर्न सकेका छैनन् ।
गत असारको अन्त्यतिर तत्कालीन् डिभिजन सहकारी कार्यालय धनकुटाले धनकुटाका सातै स्थानीय तहलाई हस्तान्तरण गरेको थियो ।
नयाँ आर्थिक वर्षको सुरुवात भएसँगै सो कार्यालय खारेजी भयो । र सम्पूर्ण अभिलेख सँगै कार्यसञ्चालन स्थानीय तहको मातहतमा सर्यो ।
तत्कालीन् डिभिजन सहकारी कार्यालयले जिल्लामा रहेका ३ सय ८ सहकारी संस्था मध्ये २ सय ८१ ओटा सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरेको थियो ।
कुल सहकारी मध्ये धनकुटा ६४, महालक्ष्मी ५७ र पाख्रिवास नगरपालिकालाई ३८, सहिदभूमि १८, चौविसे ३०, छथरजोरपाटी ४४ र साँगुरीगढी गाउँपालिकालाई ३० ओटा सहकारी संस्थाको अभिलेख हस्तान्तरण गरेको थियो ।
अभिलेख हस्तान्तरण भएसँगै सहकारीको संचालन, व्यवस्थापनका साथै आवश्यक ऐन नियम निर्माण गर्ने व्यवस्था स्थानीय तहमा सरेको थियो ।


