सरकारको अनुमतिमै अमेरिका भ्रमण गरेको हुँ : मुख्यमन्त्री राई (अपिल सहित)
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने स्वदेश तथा विदेशका सम्पूर्ण नेपालीप्रति धन्यवादज्ञापन गर्नुभएको छ ।
मुख्यमन्त्रीको कार्यालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा प्रदेश सरकारको मन्त्रिपरिषद्को कात्तिक ११ गतेको बैठकको निर्णयअनुसार आफू निजी खर्चमा उपचारका लागि कात्तिक १६ गते थाइल्याण्डको राजधानी बंैकक गएको जनाइएको छ ।
बैंकक उपचारका क्रममा स्वास्थ्य जाँचको अन्तिम रिपोर्ट कात्तिक २६ गते आउने भएको हुनाले निजी एवम् पारिवारिक भेटघाटका लागि अमेरिका गएको जानकारी गराउँदै सो क्रममा अमेरिका न्यूयोर्कस्थित प्रवासी नेपाली मञ्च र आदिवासी जनजाति महासङ्घको संयुक्त आयोजनामा एक भेलामा सहभागी भई बाल्टिमोर, वाशिङटन डिसी, वफेल्लोलगायत केही ठाउँको भ्रमण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफ्नो अमेरिका भ्रमणलाई केही पत्रपत्रिका एवम् मिडियाले विवाद सिर्जना गरी आफ्ना सहयोगी पारुहाङ राईको नाम जोडर कपोककल्पित भ्रमपूर्ण प्रचारबाजी गरेकामा त्यसको खण्डन गर्दछु भनी विज्ञप्तिमा जनाइएको छ ।
मुख्यमन्त्री राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपचारका क्रममा विदेश जानका लागि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग नगरेको र विदेश जाने सम्बन्धमा सङ्घीय सरकारलाई समेत जानकारी गराएको उल्लेख गरिएको छ ।
यस्तै विज्ञप्तिमा उपचारको क्रममा छ महीनाको औषधि सेवनपछि आगामी २०७६ वैशाख ६ गते स्वास्थ्य जाँचका लागि पुनः बैंकक जानुपर्ने उल्लेख गरिएको छ ।
राईले जारी गर्नु भएको अपिलको पूर्णपाठ यस्तो छः आदरणीय दाजुभाई दिदीबहिनीहरु !
दुई वर्षदेखि घाँटीको समस्या झेल्दै आएको म उपचारका लागि कात्तिक १६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको राजधानी बैंकक गएर कात्तिक २८ गते स्वदेश फर्केको छु । मेरो स्वास्थ्य लाभको कामना गर्दै तपाईंहरु सबैले देखाउनु भएको चिन्ता, चासोप्रति हार्दिक आभार प्रकट गर्दछु ।
मेरो स्वास्थ्य अवस्था र उपचारबारे सामाजिक सञ्जाल, निहित स्वार्थ बोकेका डिजिटल मिडिया र केही छापामाध्यमबाट गरिएका दुष्प्रचारबारे मलाइ राम्रोसँग थाहा छ । यसमा मेरोे गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता आधारहीन र भ्रामक प्रचारबाजीबाट प्रभावित नहुन म सबैलाई हार्दिक आग्रह गर्दछु ।
दुई वर्षदेखि घाँटीको पछाडिको भागमा मैले समस्या झेल्दै आएको र निरन्तर नेपालको सरकारी तथा निजी अस्पतालमा र अन्य उपचार पदतिसमेतबाट उपचार गर्दै आइरहकामा खास रोगको पहिचान र समाधान हुन नसकेका कारण चिकित्सकको सल्लाहमै बैंकक गएको हुँ । विदेशमा उपचार गराउन जानु मेरो कुनै रहर र सोख हैन । मेरो उपचार तथा निजी भ्रमण सम्बन्धमा मिति २०७५ कात्तिक ११ गते बसेको प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकबाट निर्णय भई सोहीबमोजिम संघीय सरकारलाई जानकारी गराएर कात्तिक १६ गते बैंककमा उपचारपश्चात अमेरिका गएको जानकारी गराउँदछु ।
थाइल्याण्डको राजधानी बैंककस्थित बुम्रुन ग्राड अस्पतालमा उपचार हुँदा कुनै गम्भीर प्रकृतिको समस्या नदेखिएको र चिकित्सकको सल्लाहबमोजिम कुनै जटिल किसिमको समस्या नरहेको निष्कर्षले उत्साहित बनेको छु । चिकित्सको सल्लाहबमोजिम छ महिना औषधि सेवन र नियमित फिजियोथेरापीबाटै समस्या समाधान हुने व्यहोरासमेत जानकारी गराउँदछु । साथै छ महिनापछि अर्थात २०७६ वैशाख ६ गते पुनः जाँचका लागि बोलाइएको जानकारी गराउँदछु ।
प्रदेश सरकारको प्रमुख भएका नाताले निजी काम र भ्रमणमा जाँदा वा औपचारिक भ्रमणमा जाँदा अपनाउनु पर्ने प्रक्रिया र लिनु पर्ने निर्णय, अनुमति वा जानकारी सम्बन्धमा मलाई अवगत भएकै कारण प्रक्रिया पूरा गरेर मात्र भ्रमण गरेको जानकारी गराउँदछु । बैंककमा उपचारक्रममा मेरो अन्तिम रिपोर्ट नोभेम्वर १२ अर्थात कात्तिक २६ मा मात्र प्राप्त हुने भएकाले पूर्व निर्णयअनुसार बाँकी अवधिका लागि अमेरिका गएको हुँ । म सुटुक्क होइन, विधिसम्मत सबै प्रक्रिया पूरा गरेर प्रेसलाई समेत जानकारी गराई अमेरिका गएको यहाँहरुमा जानकारी गराउन चाहन्छु । मेरो व्यक्तिगत उपचारको सिलसिला र निजी भ्रमण भएकाले कुटनीतिक राहदानी (रातो पासपोर्ट) समेत प्रयोग नगरिएको अवगत गराउन चाहन्छु ।
अमेरिका भ्रमण कसैको औपचारिक निम्तो, कार्यक्रम र प्रायोजनमा नभई निजी एवम् पारिवारिक भेटघाट मात्र भएको जानकारी गराउँदछु । मेरो आग्रहमा होइन न्युयोर्कस्थित प्रवासी नेपाली मञ्च र आदिवासी जनजाती महासंघको संयुक्त आग्रहमा आयोजित एक भेलामा सहभागी भई बाल्टिमोर, वाशिङ्टन डिसी, बफेल्लोलगायतका केही ठाउँको भ्रमणपश्चात पुनः बैंकक भएर आफ्नो उपचारको सम्पुर्ण रिपोर्टसहित स्वदेश फर्किएर आफ्नो जिम्मेवारीमा क्रियाशील भइसकेको जानकारी गराउन चाहन्छु ।
यसप्रकार भएको मेरो अमेरिका भ्रमणलाई जबर्जस्त विवादमा तान्न खोजेर केही थाहा नभएको, कोही नभेटेको र नचिनेको व्यक्तिको एउटा घटनामा म र मेरो सहयोगी पारुहाङ राईको नाम जोडेर सनसनीपूर्ण बनाएर गरिएको भ्रमपूर्ण प्रचारबाजीको खण्डन गर्दछु । यसमा मेरो कुनै संलग्नता नरहेको जानकारी गराउँदछु ।
मैले नैतिक मूल्यमान्यता, इमान, पारदर्शीता, त्याग र निष्ठाको राजनीति गर्दै आइरहेको छु । मेरो उपचार र भ्रमणको सम्पूर्ण खर्च मैले आफनै पारिश्रामिकबाट जम्मा भएको स्रोतबाट गरेको छु । मेरो उपचार र भ्रमणका लागि कुनै व्यक्ति वा संस्था कसैबाट कुनै प्रकारको सहयोग नलिइएको जानकारी गराउँदछु ।
अन्त्यमा, यस्ता कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र त्यागको जगमा दरिलोसँग उभिँदै निरन्तर अगाडि बढ्न ऊर्जा मिलेको छ । मेरो स्वास्थ्यप्रति चासो लिएर सद्भाव देखाउँदै स्वास्थ्य लाभको कामना गर्नु हुने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
३० कात्तिक २०७५ – शेरधन राई – मुख्यमन्त्री, प्रदेश १ ।




