धनकुटामा प्रथम एभोकाडो महोत्सव
धनकुटा खबर । व्यबसायीक एभोकाडो खेतीबाट धनकुटाको कृषि पर्यटनलाई टेवा पुर्याउने उदेश्यले धनकुटा बजारमा प्रथम एभोकाडो महोत्सव हुने भएको छ ।
धनकुटा नगरपालिकाको आयोजनामा सम्पन्न हुन लागेको उक्त एक दिने महोत्सवमा नगरक्षेत्रको किसाका २० वटा एभोकाडोका स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
मंसिर ८ गते धनकुटा बजारको परिचय मोड क्षेत्रमा लागेको उक्त महोत्सव एशियाकै पहिलो महोत्सव भएको नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले जानकारी दिए ।

धनकुटा बजारको परिचय मोडमा ३० लाख लागतमा निर्मित एभोकाडो स्तम्भ र पार्कको उत्घाटनसंगै महोत्सवको आयोजना गरिने राईले जानकारी दिए ।
महोत्सवमा सहभगी किसानहरुलाई प्रोत्साहन स्वरुप प्रथम, द्वितिय, तृतिय र सान्तत्वना हुने ६ जना किसानहरुलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार दिईने नगरपालिकाले जानकारी दिएको छ ।
एभोकाडोको खेतीलाई प्रवद्र्धन गर्न नगरपालिकाले गएको असारमा नगरपालिकाले धनकुटालाई ‘एभोकाडोको राजधानी’ घोषणा गरेको थियो । नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गरे संगै प्रति केजी ५० रुपैंयामा बिक्दै गरेको एभोकाडो अहिले धनकुटामा १ सय ५० रुपैंया पुगेको छ ।
२०२८ सालमा बेलायत सरकारले धनकुटाको पाख्रीबास कृषि अनुसन्धान स्थापना गरेसंगै ती देशका नागरिकले रोपेर फैलिएको एभोकाडो हाल धनकुटा नगरपालिका क्षेत्रमा २५ हजार फल दिने बोट रहेको नगरपालिकाको तथ्यांक छ ।


