चीनले भन्यो- कुरा नबुझी नेपाली युवतीसँग बिहे नगर्नू !
काठमाडौं, भदौ २७ । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ।
विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यसपटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो।
पछिल्लो समय विवाहका नाममा चीनतर्फ युवती त’स्करी भएका समाचार सार्वजनिक भएका छन् ।
काठमाडौंस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ‘वी–च्याट’ मार्फत नेपाल घुम्न चाहने आफ्ना नागरिकका लागि चिनियाँ लिपिमा बुधबार यस्तो सूचना जारी गरेको बेइजिङस्थित चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका खबर आजको कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेका छन्।
चिनियाँहरूले अरूको मध्यस्थता अर्थात् ‘ब्लाइन्ड डेट’ का आधारमा बिदाको समय नेपालमा गएर विवाह गर्नुअघि नेपालको विवाह दर्ता प्रणालीबारे पूर्वजानकारी राख्न, रोकथामका उपाय अपनाउन र नेपालमा पुगेर हुने विवाहबारे सावधानी अपनाउन एडभाइजरीमा सचेत गराइएको छ ।
चीनले राम्ररी कुरा नबुझी वैवाहिक सम्बन्धको प्रक्रियामा नजान भनेको छ।
स्थानीय विवाहकर्ता संस्थालाई शुल्क बुझाउनु र दुलहीको परिवारलाई पैसा तिर्नुअघि नेपाली जीवन साथीबारे राम्ररी बुझ्न, भावनात्मक दबाबमा नआउन र दुलहीसँग राम्ररी संवाद गर्न नसक्ने अवस्थामा विवाह गरेर चीन फर्कंदा शं’कास्पद मानव त’स्करीको प्रमाणका रूपमा लिन सकिने औंल्याइएको छ।
सुझावमा भनिएको छ, ‘नेपालमा सम्बन्धित न्यायिक प्रक्रिया लामो हुने भएकाले शं’कास्पद व्यक्ति प्रहरीद्वारा प’क्राउ पर्ने सम्भावना हुन्छ।
अन्ततः निर्दोष साबित भए पनि समय लाग्ने, सामान्य अवस्थाको हि’रासतमा रहनुपर्ने, महँगो वकिल शुल्क बेहोर्नुपर्ने भएकाले यसमा संलग्नहरूको आर्थिक, मानसिक तथा शारीरिक नोक्सानी हुन सक्ने भएकाले यसबारे ध्यान दिनुपर्नेछ।’ यदि नेपालीसँग वैवाहिक सम्बन्ध स्थापित गराउने कुनै अवैध म्यारिज ब्युरो चीनमा फेला परेमा पनि विश्वास नगर्न भनिएको छ।
चिनियाँ कानुनअनुसार कुनै पनि चिनियाँ संस्थालाई वैदेशिक विवाह एजेन्सी व्यवसाय गर्ने अनुमति छैन । व्यक्तिगत रूपमा कसैले पनि धो’खाधडी वा आर्थिक नाफाका लागि विवाह गर्न पाउँदैन। ‘यदि चीनभित्र नेपालमा विवाह गराउने कुनै एजेन्सी भेटेमा ती संस्था अवैध हुन् भन्नेतर्फ सतर्क रहनू’ एडभाइजरीको दसौं बुँदामा उल्लेख छ।


