निःशुल्क औषधि मेडिकल हलले बिक्री गरेको भेटिएपछि…
हेटौंडाको शाह मेडिकल हलले निःशुल्क औषधि बिक्री गरेको भेटियो
देवराज पन्त, मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ मा रहेको एक औषधि पसललाई स्थानीय प्रशासनले शील गरेको छ । नेपाल सरकारको स्वास्थ्य सेवा विभागले विभिन्न स्वास्थ्य चौकीमा निःशुल्क रुपमा वितरण गर्न पठाइएका औषधिहरु शाह मेडिकल हलमा बिक्री गरिरहेको भेटिएपछि शील गरिएको बताइएको छ ।
स्वास्थ्य सेवा विभागले “निःशुल्क वितरण” भनेर लेखिएको लोगोलाई कालो मसीले मेटाई बिक्री गरिएको भेटिएको हो । सो औषधि पसलमा ठूलो परिणाममा निःशुल्क वितरण गरिने विभिन्न प्रकारका सरकारी औषधिहरु समेत भेटिएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योगका प्रतिनिधि, वडा प्रहरी कार्यालय, उपभोक्ता हित अधिकारकर्मी, पत्रकारहरुको संयुक्त अनुगमनका क्रममा सो औषधिहरु भेटिएको थियो ।
अनुगमनका क्रममा सो औषधि पसलले अनुमति नै नलिई क्लिनिक सञ्चालन गरेको, अस्पतालमा मात्रै राख्न पाइने निलो भुँईमा सेतो अक्षरमा “एच” लेखिएको लोगो समेत प्रयोग गरेको लगायतको कैफियत भेटिएको जिल्ला प्रशासन कार्यालय, मकवानपुरका नायबसुब्बा सहदेव आचार्यले जानकारी दिएका छन् ।
आचार्यका अनुसार बरामद गरिएका सरकारी औषधि ल्याइएको श्रोतबारे समेत अनुसन्धान हुने बताएका छन् ।


