१२९ बर्षे लामो इतिहास बोकेको भेरी अस्पताललाई युवा संघ र अनेरास्ववियु बाँकेले बुझायो यस्तो पत्र
राष्ट्रिय युवा संघ र अनेरास्ववियु बाँकेले नेपालगन्ज स्थित भेरी हस्पिटलको सेवाको विषयलाई लिएर ध्यानाकर्षण पत्र बुझाएको छ । अस्पताल प्रशासनसंग आम जनताको सरोकार र चासोका विषयमा दश सुत्रीय माग राख्दै राष्ट्रिय युवा संघ र अनेरास्ववियु बाँकेले ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रत्यक ओपिडीहरुमा विशेषज्ञ चिकित्सकहरु अनिवार्य रुपमा बस्ने ब्यवस्था मिलाउनु पर्ने , २४ सै घण्टा USG , X-Ray , CT Scan , Pathology , इमरजेन्सी र प्रसुती सेवाहरु संचालन गर्ने , अस्पताल परिसरको बाहिर र भित्र रहेका सम्पुर्ण मेडिकल र स्वास्थ्य क्लिनिकहरु हटाई अस्पतालको फार्मेसीबाट सबै किसिमका औषधि र अस्पताल ओपिडी बाटै बिहान ९ बजे देखी साझ ५ बजे सम्म अनिवार्य रुपमा सेवा प्रदान गर्ने ब्यवस्था मिलाउनु पर्ने जस्ता आम सेवाग्राहीका चासो र सरोकारका विषयलाई लिएर ध्यानाकर्षण बुझाएको राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालले बताएका छन् ।
१२९ बर्षे लामो इतिहास बोकेको भेरी अस्पतालले जे जसरी सेवाग्राहीलाई उपलब्ध सेवाहरु इमान्दारीपुर्वक उपलव्ध गराउनुपर्ने थियो त्यसको ठिक बिपरित उपलब्ध सेवाहरु अस्पतालमा उपलब्ध नगराई सोझा सेवाग्राहीहरुलाई केही चिकित्सक र कर्मचारीहरुले निजि क्लिनिकमा जान बाध्य पारिरहेको परिस्थिति रहेकाले अनेरास्ववियु र राष्ट्रिय युवा संघले त्यसको ध्यानाकर्षण गर्दै पत्र बुझाएको जनाएको छ ।

अनेरास्ववियुका बाँकेका संयोजक तथा सह संयोजक क्रमशः सुरेन्द्र जंग शाह , टेकेन्द्र मल्ल तथा राष्ट्रिय युवा संघ बाँकेका संयोजक तथा सह-संयोजक क्रमश कुश्माखर बस्याल र आकाश कार्किले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुपानन्द अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
ध्यानाकर्षण बुझाउने कार्यक्रममा अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाँकेका पदाधिकारी तथा प्रतिनिधि संगै युवा तथा बिद्यार्थीहरुको समेत सहभागीता रहेको थियो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य किशोर थापाको समेत उपस्थिति रहेको कार्यक्रममा थापाले भेरी अस्पतालले दिने सेवाहरु इमान्दारीपुर्वक दिन नसकेको कारण यो ध्यानाकर्षण पत्र बुझाउनु परेको बताउनुभएको छ । ‘साधारण जनताले पाउनुपर्ने सेवा सुबिधा लिन नसक्ने स्थिति रहेको छ , प्राइभेट क्लिनिकमा जानुपर्ने स्थिति आएकोले यो कदम चाल्नु परेको हो’ – थापाले बताए ।
उता भेरी अस्पतालका सुपरिटेन्डेन्ट रुपानन्द अधिकारीले ध्यानाकर्षण गराएकोमा धन्यवाद दिदै आउने दिनमा पनि यसरी नै आफुहरुलाई सचेत गराउदै, निरीक्षण तथा चासो राख्न अनुरोध समेत गरेका थिए । अधिकारीले सम्भाव भए सम्म आफुले अस्पताल सुधारका लागी कार्य गर्ने बताउनुभएको छ ।




