३० लाख बालबा,लिकाहरुको लागि दयाहाङ र केकीको विशेष अपिल भिडियो हेर्नुहोस्
दादुरा रुवेला खोप अभियान शुरु, ९ महिनादेखि पाँच वर्ष भित्रका ३० लाख बालबालिकालाई खोप लगाइने
‘पूर्ण खोप : सुरक्षित भविष्य’ भन्ने नारासहित नेपाल सरकारले यहि फागुन र चैत महिनामा दादुरा रुवेला खोप अभियान शुरु भएको छ । दादुरा-रुबेला खोप अभियान २०७६/७७ अन्तर्गत देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबा,लिकालाई दादुरा-रुबेला खोप दिइन लागिएको छ ।
सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ लाई एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सघाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागु गर्नेछ । फागुन १ (बिहीबार) गते शुरु भई फागुन ३० सम्म संचालनमा रहने पहिलो चरण अन्तर्गत प्रदेश नं. १,२ र ५ का बालबालिकालाई दादुरा र रुबेला खोप लगाईनेछ ।
त्यसैगरी दोस्रो चरण चैत्र १ गते देखि चैत्र ३० गते सम्म संचालन हुनेछ र यो चरणमा बाँकी प्रदेशहरु बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका बालबालिकालाई यी खोपहरु लगाईनेछ ।
उक्त अभियानलाई सफल पार्न नायक दयाहाङ राई र नायिका केकी अधिकारीले एक बिशेष अपिल गर्दै एउटा जनचेतना मुलक भिडियोसमेत शेयर गरेका छन् ।
“दादुरा रुबेला विरुद्धको खोप शत् प्रतिशत बालबालिकालाई लगाउनका लागि जनचेतना अभिवृद्धि गर्न एनसेलबाट हामीलाई धेरै सहयोग प्राप्त भएको छ । त्यो सहयोगको लागि एनसेललाई धेरै धन्यवाद दिन चाहन्छांै । भविष्यमा पनि हाम्रो खोप कार्यक्रमलाई सहयोग निरन्तर रहनेछ भन्ने आशा राख्दछौं, ” परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलकशर्मा गौतमले भने ।
“राष्ट्रिय प्राथमिकतामा रहेको दादुरा रुबेला खोप अभियान अन्तर्गत खोपको महत्वका बारेमा जनचेतना अभिवृद्धिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं । हाम्रो सामाजिक जिम्मेवारी कार्यक्रम अन्तर्गत स्वास्थ्य क्षेत्र हाम्रो प्रमुख प्राथमिकतामा रहेको छ र एक अग्रणी जिम्मेवार कर्पोरेट नागरिकको रुपमा हामीलाई यस किसिमको राष्ट्रिय अभियानमा सहकार्य गर्ने अवसर दिइएकोमा निकै नै गौरवान्वित छौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।
एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत देशभर स्वास्थ्यसँग सम्बन्धि जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसंग २०७६ साल असोज १३ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको यहि समझदारी अन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरुको प्राविधिक सहयोगमा राष्ट्रिय दादुरा रुबेलाखोप अभियानको लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिका लागि सरकारलाई सहयोग गरेको हो । यस अघि एनसेलले स्वास्थ्य सम्बन्धि जनसचेतना अभिवृद्घिको सहकार्य अन्तर्गत डेङ्गीको बारेमा जनसचेतना अभिवृद्घिको लागि सहयोग गरेको थियो ।
नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ । बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ । नेपालमा २१ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालबालिका पूर्णतः खोपबाट वञ्चित छन् । यस पटकको अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले तीन तहका सरकारले विशेष तयारी गरेका छन् ।
सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात् दादुरा रुबेला रोगका घटनाहरु निकै नै बढ्दो क्रममा रहेको देखाउँछ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार १२ देखि २३ महिनाका बालबालिकामा सबै खोपको मात्रा पुरा गर्ने बालबालिकको संख्या २०११ मा ८७ प्रतिशत (२०११) रहेकोमा सन् २०१६ सम्ममा ७८ मा प्रतिशतमा घटेको छ ।
रुबेलाले हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतनवा मृत शिशु जन्मने र जन्मदै हुने विकलाङ्ग जस्ता जटिलताहरु देखिनुका साथै मृत्यु समेत हुनसक्छ ।
यदि सबैै बालबालिका ९ र १५ महिना गरी दाुदरा–रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिन्छ । दक्षिण पूर्वी एसियामा सन् २०२३ सम्ममा दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको साथै नेपाल सरकारले पनि सोहि अनुसार सन् २०२३ सम्ममा दादुरा र रुबेला रोग निवारण गरी सबै बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्य राखेको छ ।
नियमित खोप तथा अभियानहरुमा बालबालिकालाई दादुरा–रुबेला खोप दिईएको कारण हाल नेपालमा विगतमा भन्दा दादुरा रुबेलाको रोगीहरुको दर ९५ प्रतिशत् ले घटेको छ । यद्मपी, अझैसम्म यो रोग हाम्रो देश लगायत विश्वमा पूर्णरुपमा निवारण भई सकेको छैन । हाम्रै देशको केहि ठाउँहरुमा हाल पनि दादुरा र रुबेलाको रोगीहरू देखा परिरहेको कारण यो रोगको संक्रमण फैलन सक्ने सम्भावना अझै रहन्छ ।
दादुरा–रुबेला खोप लगायत अन्य खोपहरू विश्व स्वास्थ्य संगठनबाट गुणस्तरीयता प्रमाणिकरण भई नेपालको राष्ट्रिय नियमन निकाय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भए पछि मात्र उपलब्ध हुन्छन् । नेपाल सरकारबाट निशुल्क उपलब्ध हुने यी खोपहरू सुरक्षित, गुणस्तरीय र प्रभावकारी छन् ।
३० लाख बालबा,लिकालाई खोप लगाउनेबारे केकी-दयाहाङको अपिल


