केही बर्षपछि हामी देशलाई धनि बनाउछौं – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बिकास निर्माणको काम तिव्र गतिमा भइरहेको बताएका छन् । सुक्खाग्रष्त क्षेत्र पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार यासोक बृहद पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको सहजताका लागि सरकार लागिपरेको बताए । प्रधानमन्त्री ओलीले भने ‘बिकास, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारीसँग जनताको सुख–सुबिधा जोडिएको छ’ उनले थपे ‘यी कुराहरुको सहजता र बिकासको काम सरकारले तिब्र रुपमा गरिरहेको छ ।’

प्रधानमन्त्री ओलीले खानेपानी र विद्युतीकरणको उद्घाटन गर्न पाउँदा आफूलाई हर्ष लागेको बताए । तीन घन्टासम्म हिंडेर खानेपानीको जोहो गर्नुपर्ने क्षेत्रलाई खानेपानीको सहज पहुँचमा जोड्ने बर्षौंदेखिको सपना पूरा भएको प्रधानमन्त्री ओलीले बताए । आफ्नो जन्मजिल्ला तेह्रथुमको छिमेकी जिल्ला भएकाले पाँचथरको सुख–दुःखहरुसँग आफू परिचित रहेको ओलीले बताए । खुक्खाग्रष्त क्षेत्रमा मुलुककै ठूलो पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्न पाउँदा खुसी लागेको ओलीले बताए ।

पम्पिङ प्रबिधिबाट खानेपानी आयोजना सञ्चालन गर्न बिद्युत बढी खपत हुन्छ । प्रधानमन्त्री ओलीले बिद्युत महसुल अलि चर्कै रहेको बताउदै खानेपानीको प्रायोजनका लागि विद्युत महसुल छुटको ब्यवस्था अहिलेसम्म नभएको तर यस सम्बन्धमा सरकारले बिचार गर्ने बताए । प्रधानमन्त्री ओलीले भने ‘जनतालाई सुबिधा दिने हाम्रो मनसाय हो, यो महसुल तिर्नुपर्ने पनि केही बर्ष हो, केही बर्षपछि हामी देशलाई धनि बनाउछौं, देशलाई धनि बनाएपछि यसमा कुनै समस्या हुने छैन ।’ प्रधानमन्त्री ओलीले प्रदेश–१ मा दूरगामी महत्वका बिकास निर्माणका कामहरु भइरहेको पनि बताए । राष्ट्रिय गौरवको तमोर जलासययुक्त जलविद्युत ओयोजनाको लागि डिटेल सर्बे गर्ने काम अघि बढाइएको ओलीको भनाई थियो ।

खानेपानी आयोजना उद्घाटन समारोहमा बोल्दै खानेपानी मन्त्री बिना मगरले चुनौतिकाबीच सम्पन्न यासोक बृहद पम्पिङ खानेपानी आयोजना सम्पन्न भएको बताउदै अब आवस्यक व्यवस्थापनका लागि खानेपानी मन्त्रालयले सहयोग गर्ने बताइन् । पाँचथरकै अर्को सुक्खाग्रष्त क्षेत्र तुम्बेवास्थित आङ्ना–मौवा खानेपानी आयोजना निर्माण प्रक्रियामा रहेको उल्लेख गर्दै खानेपानीमन्त्री मगरले जिल्लाको हिलिहाङ गाउँपालिकास्थित सुभाङ् खानेपानी आयोजनाको डीपीआर यसै बर्ष हुने बताइन् ।

उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुबासचन्द्र नेम्बाङ, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो, योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल, खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासे लगायत लगायतको उपस्थिति रहेको थियो ।

बहुप्रतिक्षित तमोर पम्पिङ खानेपानी आयोजना सम्पन्न
यससँगै बहुप्रतिक्षित यासोक बृहद पम्पिङ खानेपानी आयोजना सम्पन्न भएको छ । जिल्लाकको कुम्मायक गाउँपालिकालाई नेपाल सरकारले वि.सं.२०६८ सालमा मुलुककै पहिलो सुक्खाग्रष्त क्षेत्र घोषणा गरेको थियो । सोही क्षेत्रका नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन वि.सं.२०७२ देखि पम्पिङ खानेपानी आयोजनाको काम सुरु भएको थियो । आयोजना सम्पन्न भएसँगै सुक्खाग्रष्त क्षेत्रका तीन हजार ४३ घरधुरीका १३ हजार २६६ जनसंख्या लाभान्बित बनेको उपभोक्ता समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले बताए ।

तमोर नदीस्थित लुमुघाटबाट कुम्मायक–५, थामडाँडा एक हजार ४३० मिटर माथि पानी लिफ्ट गरेर ल्याइएको छ । आयोजनाको सात वटा स्टेशन रहेका छन् । ती स्टेशनमा पानी जम्मा गर्न ११ वटा ट्याङ्की बनाइएको छ । प्रति सेकेन्ड २०.३ लिटरका दरले पानी प्रवाह हुने बताइएको छ । आयोजनाको प्रशारण लाइनाको काम स्वामी प्रेरा नारायण जेभी र मूख्य वितरण लाइनको काम कन्काई–महादेव–खिम्ती–स्वामीनारायण जेभीले गरेको थियो । आयोजनाको कूल लागत ५१ करोड ३० लाख २० हजार ५६८ रुपैंयाँ रहेको छ । जसमध्ये नेपाल सरकारको ४६ करोड १७ लाख १८ हजार ५११ रुपैंयाँ, जनश्रमदान चार करोड ६१ लाख ७१ हजार ८५१ रुपैंयाँ र उपभोक्ताबाट ५१ लाख ३० हजार २०५ रुपैंयाँ नगद संकलन गरिएको थियो ।

कुम्मायक १, ३, ४ र ५ नं.वडा अँध्यारोमुक्त
प्रधानमन्त्री ओली खानेपानी आयोजनासँगै कुम्मायक १, ३, ४ र ५ नं. वडामा बिस्तार गरिएको विद्युतीकरणको पनि उद्घाटन गरेका छन् । योसँगै गाउँपालिकाका चार वटा वडा अँध्यारोमुक्त वडा बनेका छन् । चार वर्षअघि सुरु भएको उक्त बिद्युतीकरणको काम १० करोड ५१ लाख ५१ हजार ७७६ लागतमा सम्पन्न भएको हो । स्याबरुम्बा विद्युत सहकारी संस्थाको अगुवाईमा आठ सय घरमा सामुदायिक ग्रामीण विद्युतिकरण कार्यक्रमअन्तर्गत विद्युतिकरण सम्पन्न भएको हो । गाउँमा बिजुली बल्न थालेपछि स्थानीयले खुसी ब्यक्त गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।