कोरोना त्रा,स – बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने ?

काठमाडौँ । “बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोनाभाइरसको त्रा,स र घरमै लामो समय बिताउँदाको हैरानीमा कसरी सम्झाउन सकिन्छ ?” किशोर किशोरीलाई कुन उत्तम उपायबाट समयको उपयोग गराउन सकिन्छ ?” कोरोनाभाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमा बसेर बालबालिकालाई कसरी सकारात्मक र रचनात्मकरुपमा व्यस्त बनाउने भन्ने आम चासोको विषय बनेको छ । कविता अधिकारी र शीला सापकोटाको उक्त प्रश्नहरु अरु अभिभावकको मनमा पनि उत्पन्न भइरहेको प्रश्न हो ।

सो प्रश्नलाई समाधान गर्दै महाराजगञ्जस्थित कान्ति बाल अस्पतालका बाल मनोरोग विशेषज्ञ डा अरुण कुँवरले जवाफ दिँदै भन्नुभयो “सङ्क्रमणबारे जे यथार्थ, सत्य÷तथ्य छ त्यो भनिदिनुस् र आधिकारिक नभएका सञ्चारमाध्यममा आउने अनावश्यक समाचार र अफवाहबाट बच्नुस् ।”

बालअधिकारका क्षेत्रमा कार्यरत संस्थाको सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सामाजिक सञ्जाल ‘फेसबुक लाइभ’ का माध्यमबाट विज्ञ डा कुँवर र अभिभावकलाई जोडेको थियो । सोही क्रममा अस्पतालको मानसिक स्वास्थ्य विभागले कुनै बालबालिकालाई तनाव बढेमा वा मानसिक समस्या भएमा बिहान ९ देखि साँझ ५ बजेसम्म जिज्ञाशा, परामर्श वा उपचार सेवा दिने जानकारी पनि दिनुभयो । आपत्कालीन अवस्थामा जुनसुकै अवस्थामा पनि सम्पर्कका लागि ९८०८५२२४१० उपलब्ध भएको डा कुँवरले सुनाउनुभयो ।

डा कुँवरले लामो समय एकान्तमा बस्दा वा महामारीका समयमा मानिसमा तनाव हुने, बाहिर जान नपाउने हुँदा डर लाग्ने, आत्तिने, छटपटी हुने हुनु स्वभाविक भएकाले आफूलाई व्यस्त बनाएर दिमागलाई ठीक ठाउँमा राख्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कुनै रचनात्मक काम गरेर समय बिताउन सक्छौँ । बालबालिकालाई समूहमै सहभागी गराएर खेलाउने गर्न सक्छौँ । सुत्ने, खाने, खेल्ने, मनोरञ्जन गर्ने, योग गर्ने समय नियमित तर्जुमा गरी व्यस्त हुन सक्छौँ ।”

डा कुँवरले भन्नुभयो, “हामीहरु लकडाउन भएकैले बाँचेका छौँ । यति लामो समय एकै ठाउँमा परिवार यसरी बस्न पाएका थिएनौँ । यो अवसर हो ।” विद्युतीय सामग्री र सामाजिक सञ्जालमा धेरै नझुल्न बरु लुडो, चेस पनि खेलेर समय बिताउन सुझाव दिनुभयो । सो लाइभलाई एक घण्टाका बीचमा एक हजारले हेरेका थिए भने ३८ जनाले सकारात्मक प्रतिक्रिया गरेका थिए । सिजपका अध्यक्ष नरेन्द्र डङ्गोलले अहिलेको सामाजिक सञ्जालमा महामारीका समयमा बालबालिकाको दिमागमा असर हुने खालका मिडिया तथा समाचार आइरहने हुँदा त्यस्तोबाट टाढा रहन आग्रह गर्दै बालबालिकालाई नियमित सिर्जनशील बनाउन अभिभावकलाई आग्रह गर्नुभयो । सिजपका कार्यक्रम संयोजक मधु दवाडीका अनुसार सो अभियानले लकडाउनका अवधिमा एक दिन बिराएर बालरोग र मनोरोगका साथै अनलाइन अध्यापनका प्रशिक्षकलाई प्रस्तुत गर्ने तयारी भएको जानकारी दिनुभयो ।

लामो विदालाई ध्यानमा दिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मातहतका निकायले पनि अनलाइन शिक्षा र सन्दर्भ सामग्रीमा जोड दिँदै आएका छन् । नेपाल शिक्षक महासङ्घ, शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल, निजी तथा आवासीय अर्गनाइजेशन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन), साझा इ पार्टी (इ पुस्तकालय), कारखाना, मिदास आदि संस्थाले पनि यस अवधिका लागि अनलाइनका माध्यमबाट कोर्स र पठनीय सामग्रीको डिजिटल भर्सनमा अभ्यास गराउन थालेका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।