सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन !

कञ्चनपुर । विगतमा दशैं आएसँगै सखिया नृत्यले कञ्चनपुरका थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो । तर, यो वर्ष गाउँमा सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन बनेको छ ।

सखियाको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा) को आवाज नआउँदा यो वर्षको दशैंमा थारू गाउँ रौनकविहीन बनेको हो । कोरोना भाइरस सङ्क्रमण बढ्दो जोखिमका कारण थारु गाउँका टोल÷टोलमा हुने सखिया नाच नभएपछि दशैंमा थारु बस्ती सुनसान बनेको छ ।

सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत रहेको तथा सामूहिक रुपमा घर घरमा गएर देखाइने हुँदा भीडभाड हुने भएकाले नृत्यको आयोजना नगरिएको हो । थारु समुदायका अगुवा वडघर, गुरुवा, केसौका, चौकीदार, गाउँका मान्यजनसँगै जनप्रतिनिधिहरुले बैठक गरी दशैंका बेला भीडभाड हुन नदिनका लागि सखिया नृत्य नगर्ने निर्णय गरेका छन् ।

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट आरम्भ र अन्त्य गरिने सखिया नृत्य परम्परा जोगाउनका लागि मात्रै भीडभाड नहुने गरी एक दुई दिन नाच्ने व्यवस्था गरिएको पिपलाडीका वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनभयो । “नृत्यमा थारु समुदायको अटुट आस्था र धार्मिक विश्वास रहेको छ” उहाँले भन्नुभयो, “कोरोना कहर सकिएपछि अर्को वर्ष नृत्यलाई धार्मिक विधिका साथ गरिन्छ । यो वर्ष यस्तै रह्यो ।”

“कोरोनाका कारण विश्वनै आक्रान्त बनेको बेला सखिया नृत्यको आयोजना गर्नु मुर्खता हो”, जोनापुरका वडघर रामप्रसाद चौधरीले भन्नुभयो, “दशैंमा सखिया नृत्य आयोजना गर्नका लागि गुरुवासँग सल्लाह ग¥यौं । गुरुवाले नृत्य आयोजना गर्दा रोगलाई निम्त्याउनु हो भनेपछि यो वर्ष सखिया नृत्य आयोजना नगर्ने भएका छौं ।

थारु समुदायमा दशैंका अवसरमा नाच लगेर सामूहिक रुपमा गुरुवा, वडघर र गाउँका मान्यजनबाट टिका थाप्ने चलन समेत रहेको छ । कोरोना सङ्क्रमण हुन नदिनका लागि नाच टोलीलाई नलग्ने र सामाजिक दूरी कायम गरेर मात्र टिका टालो गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । “नाच टोलीसँगै वडघर, गुरुवा कहाँ टिका थाप्न जाँदाको मज्जा नै बेग्लै हुन्थ्यो”, सञ्चारकर्मी धन बहादुर कुश्मीले भन्नुभयो, “यो वर्षको दशैं कोरोनाले खल्लो बनाएको छ । आफन्तजन र नातागोतासँगै बसेर चामलको पिठोबाट बनेको ढिक्री सुगुँरको शिकारसँग खादै सखियाको मज्जा लिँदै दशैं मनाउन नपाइने भएको छ ।” कारोनाले यस वर्षको दशैं खल्लो बनाएको उहाँको भनाइ छ ।

मादलको ताल संगै कम्मर मर्काउदै सखिया नृत्यमा सहभागी हुने थारु युवतीहरु समेत दशैंका अवसरमा नृत्य गर्न नपाउँदा दुःखी भएका छन् । कोरोना सङ्क्रमणले दशैंमा सखिहरु (सहेलीहरु) मिलेर नाचिने सखिया नृत्य गर्दा लगाउने नयाँ हातैले बुट्टा भरेर तयार पारिएका लहङ्गा र चोली समेत थारु युवतीहरुले पहिरन पाएका छैनन् । सखिया नृत्यमा थारु युवतीहरुले मादलको तालसँगै शरीरलाई विभिन्न मुद्रामा मोडेर नृत्य देखाउने गरेका छन् ।

“सहेलीसँग मिलेर सखिया नृत्य गरी रमाइलो गर्दा दशैं आएर सकिएको पत्तो नै हुँदैन्थ्यो”, सुनिता चौधरीले भन्नुभयो, “दशैंका बेला गाउँमा बेग्लै किसिमको रौनक हुन्थ्यो । मादलको तालमा नृत्य गर्दाको अनुभूति नै बेग्लै किसिमको हुन्थ्यो । कोरोना सङक्रमणले सखिया नृत्य नगर्ने भएपछि गाँउ नै सुनसान छ ।”रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖