जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौं/धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ ।

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि शुक्रबार नै समाप्त भएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ । शुक्रबार राति नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।

आश्विन शुक्ल पूर्णिमाको सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आश्विन शुक्ल पूर्णिमाको राति जुवा खेल्ने विधान समेत शास्त्रीय आधारमा रहेको धर्मशास्त्रविद् गौतमले बताए । महालक्ष्मीसँगै शुक्रबार राति हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिएको छ ।

कोजाग्रत पूर्णिमा शुक्रबार परेपनि पूर्णिमा व्रत भने आज रहेको समितिले जनाएको छ । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । शुक्रबार २७ घडी ५८ पला अर्थात् बेलुकी ५ः२५ बजेसम्म चतुर्दशी तिथि थियो भने त्यसपछि पूर्णिमा तिथि लागेको छ । मध्यरातमा पूर्णिमा शुक्रबार परेकाले कोजाग्रत पूर्णिमा हिजै मनाउने निर्णय समितिले गरेको हो । आज पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७ः३३ बजेसम्म छ ।

चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायङ्कालमा पूर्णिमा तिथि चाहिने भएकाले आज परेको हो । कार्तिक स्नान र आकाशदीपदान पनि आजदेखि नै शुरु हुने जनाइएको छ । वैदिक सनातन धर्ममा कार्तिक मासमा गरिने स्नान र दानको ठूलो महत्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।