जनगणनामा ‘किरात धर्म’ लेख्न आठ किरातजन्य संस्थाकाे संयुक्त अपिल
काठमाडौं । किरात याक्थुङ चुम्लुङ, नेपाल थामी समाज, सुनुवार सेवा समाज लगायत आठ वटा जातीय संस्थाले २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा ‘किरात धर्म’ लेख्न संयुक्त रुपमा अपिल गरेका छन् ।
आइतबार काठमाडौंको कोटेश्वरस्थित सुनुवार सेवा समाजको कार्यालयमा आयोजित एक कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, नेपाल थामी समाज, सुनुवार सेवा समाज, जिरेल संघ नेपाल, किरात याक्खा छुम्मा, किरात राई यायोक्खा, सुरेल जाति उत्थान समाज, र किरात हायु समाजका प्रतिनिधिहरुले किरात समुदायमा संयुक्त रुपमा अपिल गरेका हुन् ।
उनीहरुले जाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा र धर्मको महल गरी जनगणनामा सोधिने पाँच वटा प्रश्नको उत्तरमा भर्नुपर्ने वा लेख्नुपर्ने शब्दावली उल्लेख गरी अपिल गरेका हुन् ।
आठवटै संस्थाले धर्मको महलमा किरात र दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा लेख्न अपिल गरेका हुन् ।
कार्यक्रममा किरात राई यायोक्खाका महासचिव जनक राईले अपिल–पत्र वाचन गरेका थिए भने किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बु र किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले संयुक्त अपिलबारे प्रष्ट पारेका थिए ।





