भलिबलमा भविष्य खोज्दै भण्डारी

झलनाथ खनाल/ भजनी,१० फागुन । भलिबलका क्षेत्रीय खेलाडी विशाल भण्डारी १७ वर्षको मात्र हुनुभयो । कम उमेरमा क्षेत्रीय स्तरमा पुग्नुभएका उहाँ सुदूरपश्चिमका कान्छा खेलाडी बन्ने सौभाग्य समेत प्राप्त गर्नुभएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का उहाँ अहिले जुनसुकै भलिबल प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडीका रुपमा देखिन थाल्नुभएको छ । एघार वर्षकै उमेरबाट भलिबल खेलप्रति आकर्षित हुनुभएका उहाँ लाटाभूमुराज युवा क्लबबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुँदै आउनुभएको छ ।

“मैले भलिबलसँगै क्रिकेटलाई पनि प्राथमिकतामा राखेको थिएँ । छ महिना क्रिकेट खेल पनि सिकें”, उहाँले भन्नुभयो, “मलाई क्रिकेटभन्दा भलिबलमा रुचि बढ्यो । त्यही भएर भलिबल खेल्दै आएको छु ।”

कञ्चनपुरको आदर्श विद्या निकेतनमा कक्षा १२ मा अध्ययरत उहाँले खेलसँगै अध्ययनलाई पनि सँगै निरन्तरता दिनुपर्दा समस्या हुने गरेको बताउनुहुन्छ । “मेरो घरबाट मलाई खेलकूदमा पूर्ण छुट छ । त्यही विश्वासले म सानै उमेरमा यहाँसम्म पुगेको हुँ ।” उहाँले भन्नुभयो, “जति बाहिरबाट देख्दा सजिलो लाग्छ । त्यति मैदानमा पुगे सजिलो छैन । तर ममा विश्वास छ म राम्रो खेलाडी भएर देखाउन सक्छु ।”

उहाँ अहिलेसम्म सहभागी भएका प्रतियोगितामा पनि सबैभन्दा कम उमेरको आफू नै हुने गरेको र भलिबल खेललाई व्यावसायिकरुपमा अगाडि बढाउने धोको रहेको बताउनुहुन्छ । उहाँले सहभागी भएको खेलमा उदयमान खेलाडीको उपाधिसमेत पाउँदै आउनुभएको छ । “महेन्द्रनगर कभर्ड हलमा दुई वर्षदेखि मैले भलिबल सिक्दै आएको छु । गुरुबाट सिकेको सीपलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा पु¥याउने मेरो लक्ष्य छ”, उहाँले भन्नुभयो, “खेलकूदमा भविष्य छैन भन्नु सान्दर्भिक हुँदैन । आफ्नो कर्ममा निरन्तरता दिनसके व्यावसायिक खेलाडी बन्न सकिन्छ । म बनेर देखाउने छु ।”

उहाँलाई खेलाडीकैरुपमा स्थापित भएका कारण विद्यालयले पनि ११ र १२ मा शुल्क लिएको छैन । अहिले अन्तिममा केही शिक्षकले शुल्क माग्दा आफूलाई अध्ययनमा बाधा पुगेको उहाँले बताउनुभयो ।

“परिवारमा कमाउने कोही छैन । बुवाले भारतमा काम गरी पठाएको पैसाले घर खर्च र अन्य व्यवस्थापन गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “माध्यामिक शिक्षा परीक्षा पास हुँदा विद्यालयले निःशुल्क अध्ययन गराउने जनाउँदै मेरो भर्ना गराएको थियो । अहिले शुल्क माग्न थालेको छ । यही अवस्थामा अध्ययन कतै बिथोलिन्छ कि भन्ने चिन्ता पनि छ ।” उहाँले महेन्द्रनगर कभर्डहलमा भलिबल खेलका प्रशिक्षक जगदीश भट्ट र लालबहादुर बटालाबाट प्रशिक्षित हुँदै आउनुभएको छ । कोरोना महामारीको सङ्क्रमणका कारण राष्ट्रिय खेलाडी टिममा जाने आफ्नो सपना अधुरो भएको बताउनुभयो ।

“कोरोनाका कारण हाम्रो प्रशिक्षण रोकियो । मेरो राष्ट्रिय खेलमा खेल्ने निधो भएको थियो”, उहाँले भन्नुभयो, “त्यो सपना कोरोनाका कारण पूरा हुन सकेन ।” उचाइ कम भएका कारण उहाँले लिब्रो खेल्दै आउनुभएको छ ।

भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश भट्टले विशाल पछिल्लो पुस्ताको उदाउँदो खेलाडी भएको बताउनुभएको छ । “खेलाडीमा हुनुपर्ने सबै गुण विशालमा छ । उहाँमा राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रियस्तरसम्म पुग्ने गुण छन्”, उहाँले भन्नुभयो, “सानैमा खेलमा लागेकाले पनि त्यस्तो सम्भावना देखिएको हुनसक्छ । यस्तो गुण खेलाडीमा प्रायः कमैमा हुन्छ ।” उहाँले जुनसुकै खेलम पनि सुदूरपश्चिमको खेलाडी उत्कृष्ट रहेको बताउँदै खेलाडीका लागि चाँहिने वातावरण सुदूरपश्चिममा कुनै निकायबाट हुन नसकेको बताउनुभयो । उहाँले पैसा खर्च गरेर मात्र खेलाडी स्थापित हुन नसक्ने र खेलाडीका लागि खेलमैत्री वातावरणको खाँचो रहेको बताउनुभयो ।

खेलकूदले युवालाई सही बाटोमा डो¥याउन सकिने जनाउँदै भलिबलका राष्ट्रिय प्रशिक्षक भट्टले सुदूरपश्चिमलाई चिनाउने एकै माध्यम खेलकूद बन्नसक्ने बताउनुभयो । “हामी अन्य प्रदेशभन्दा अगाडि छाँै भने त्यो खेलकुदमा छौँ । खेलकूदले प्रदेशलाई चिनाउन समय लाग्ने छैन”, उहाँले भन्नुभयो, “प्रदेशको खेलकूदमा लगानी शुन्य देखिएको छ र स्थानीय तहले पनि अन्य खेलकूद विधा जस्तै भलिबललाई प्राथमिकतामा राख्न सक्नुपर्दछ ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।