बेनी–जोमसोम सडक चार दिन बन्द हुने

म्याग्दी, म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले सोमबार एक सूचना जारी गरेर सडक स्तरोन्नति र निर्माणका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेनी–जोमसोम सडकमा चार दिन सवारी साधन आवतजावत रोकिने जानकारी गराउनुभएको हो ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका–४ को कैकुखोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रशासनले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज–२ को काभ्रेभिरमा पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।

काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ–४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ । सडक स्तरोन्नति गरी सडक सहज बनाउन जिल्ला सडक सुरक्षा समितिले यसप्रकारको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

झण्डै रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निर्माण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । आयोजनाका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम सकिएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनीयर अश्विनीकुमार यादवले बताउनुभयो ।
–––

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।