हात्तीपाइले रोगबाट बच्नका लागि औषधि आजदेखि खुवाइँदै

काठमाडौँ, सरकारले आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ।

हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए पनि नियन्त्रण हुन सकेको छैन । हात्तीपाइले विरुद्धको औषधिले असर गर्छ भन्ने भ्रमका कारण धेरैले औषधि खान नमान्दा अभियान प्रभावकारी हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिममा रहेका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डिइसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि आजदेखि खुवाइँदै छ ।

चिकित्सकका अनुसार डिइसीले रगतमा रहेको परजीवी जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्दछन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले हात्तीपाइले जोखिम रहेका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लाका १२९ स्थानीय तहका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाइँदै गरेको बताउनुभयो ।

औषधि खुवाउनका लागि पाँच हजार ४०० स्वास्थ्यकर्मी र नौ हजार ५०० महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । दश दिनसम्म स्वास्थ्यकर्मी स्थानीयवासीको घरघरमा पुगेर औषधि खुवाउने उहाँले जानकारी दिनुभयो । उहाँले निर्धक्क भएर औषधि खान सबैलाई आग्रहसमेत गर्नुभयो ।

नेपालमा हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सन् २००९ देखि ती औषधि खुवाइरहेको छ । हात्तीपाइले रोग सङ्क्रमति पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो रोग लागेपछि मानिसलाई शारीरिकरूपमा अशक्त, असमर्थ र अपाङ्ग बनाउने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीले मानिसको शरीरमा प्रवेश गरेपछि हुने गर्दछ । परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र यो रोगको लक्षण देखिने गर्दछ ।

हात्तीपाइले रोगको लक्षण देखिसकेपछि निको पार्न नसक्ने भएकाले रोग लाग्न नदिन नै यस रोगबाट बच्न उत्तम उपाय रहेकाले औषधि खुवाउन थालिएको हो । हात्तीपाइले रोग शुरूको अवस्थामा नरम वा थिच्दा थिचिने खालको सुन्निने गर्दछ भने पछिल्लो अवस्थामा छाला बाक्लो हुँदै नथिचिने खालको हुँदै जाने, ठूलो खालको सुन्निने, छालमा पत्र हुँदै जाने वा गाँठागुँठी पलाउन थाल्ने र सुन्निएको अङ्गमा मुसा पलाउने र घाउ हुँदै जाने गर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठनसँगै नेपालले पनि सन् २०३० सम्म औषधि सेवनमार्फत यस रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । वर्षको एकपटकका दरले छ वर्षसम्म नियमित औषधि सेवन अभियान सञ्चालन गर्ने र रोग सर्ने प्रक्रियालाई रोकिने लक्ष्य लिइएको महाशाखाका निर्देशक डा पौडेलले बताउनुभयो ।

दुई वर्ष उमेर नपुगेको बालबालिका, गर्भवती र सात दिनसम्म सुत्केरी तथा सिकिस्त बिरामीले हात्तीपाइले रोगविरुद्धका ती औषधि सेवन गर्नुहुँदैन । हात्तीपाइले विरुद्धको औषधिले केहीलाई रिँगटा लाग्ने, ज्वरो आउने र वाकवाकी लाग्ने जस्ता लक्षण देखिए पनि केही समयपछि यो समस्या हट्ने निर्देशक डा पौडेलले बताउनुभयो । नेपालमा अझै पनि झण्डै ३० हजार हात्तीपाइलेका बिरामी रहेको अनुमान छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।