छोरी अर्थात् महामारीमा देवी

धनगढी, ‘छोरी बिग्रे नर्स छोरा बिग्रे कमर्स’ भनी हेला गरेर बोल्ने हाम्रो नेपाली समाजमा महामारीका समयमा भने दृष्टिकोण बदलिएको छ । छोरीलाई निकै भेद्भावपूर्ण व्यवहार गरिने नेपाली समाजमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दृष्टिकोण बदलिएको हो।

महामारीको समयमा दिनरात निद्रा, थकान, भोक, तिर्खा त्यागेर स्टाफ नर्सका रूपमा आफ्नो जिन्दगी जोखिममा राख्दै सेवा गरिरहेका छोरीहरुलाई महामारीमा देवीका रूपमा चित्रण गर्न थालिएको छ समाजमा यति बेला ।

समाजमा हेलाको पात्र बनेर बसेका छोरीहरूले महामारीका रूपमा फैलिएको कोरोना कहरमा आफ्नो जीवन बिरामीका लागि समर्पित गरेर नेपाली समाजको हेराइलाई परिवर्तन गरिदिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी बताउनुहुन्छ ।

यो समयमा आफ्नै जिन्दगी जोखिममा राखेर बिरामीलाई दिनरात, भोक प्यास केही नभनी सेवा तथा उपचारमा खटिनुभएका स्टाफ नर्स छोरीहरूलाई महामारीमा देवीको रूपमा आफूले पाएको अवस्थी बताउनुहुन्छ । “महामारीमा सबै आफ्नो ज्यान बचाउन लाग्छन् तर नर्स नानीहरू अस्पतालकै ग्यालरीमा सुतेर भए पनि बिरामीको सेवामा लाग्नुहुन्छ, त्यसैले त उहाँहरू बिरामी र हाम्रो समाजका लागि अहिलेको समयमा सञ्जीवनी बुटी साबित हुनुभएको छ”, अवस्थी भन्नुहुन्छ।

निर्देशक अवस्थी न्यून पारिश्रमिक, कामको चाप, सेवा सुविधाको अभावबीच पनि नर्सहरू दिनरात बिरामीको सेवामा कटिबद्ध भएर लागेको देख्दा अस्पतालमा देवी माता आफैँ आएर उपचार गरिरहनुभएको झैँ लाग्ने गरेको बताउनुहुन्छ । लामो समयदेखि पटकपटक नर्सहरूको दुःख, पीडा र अवस्थाबारे बहस तथा छलफल हुने गरेको भए पनि अवस्थामा कुनै सुधार आउन नसक्दा भने दुःख लाग्ने गरेको उहाँको भनाइ छ ।

महामारीमा दिनरात बिरामीको सेवा गर्न पाउँदा आनन्द महसुस हुने गरेको कैलालीको सेती प्रादेशिक अस्पतालले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा खटिइरहनुभएकी स्टाफ नर्स शुष्मा विक बताउनुहुन्छ । “हाम्रा धेरै गुनासा छन् तर महामारीको समयमा गुनासाहरूलाई थाँती राखेर सेवामा खटिनु हाम्रो धर्म हो”, उहाँ भन्नुहुन्छ, “छोरी भनेपछि हेला गर्ने हाम्रो समाजमा छोरी भएर जन्म लिएर यसरी सबैको सेवा गर्ने मौका सबैले कहाँ पाउँछन् र ? मैले पाएकी छु, आफूलाई भाग्यमानी ठान्दछु ।”

महामारी फैलिएदेखि नै परिवारका सदस्यबाट बिदा लिन बारम्बार गरिएको आग्रहलाई समेत नमानीकन बिरामीको सेवामा खटिनुभएकी अर्की स्टाफ नर्स एलिसा मगर यस्तो समयमा छुट्टी लिन आफ्नो आत्माले नदिएका कारण अस्पतालमै खटिएको बताउनुहुन्छ । “हाम्रो त सरकारी अस्पतालमा हो ठिकै छ तर निजी अस्पतालमा कार्यरत साथीहरूको कामअनुसारको तलब सुविधा खै ?”, उहाँ भन्नुहुन्छ, “नेताले जस्तो माग नगरीकन काममा लाग्नुभएको छ, अनि आफूहरू किन नलाग्ने ?”

महामारीमा बिरामीको सेवा गर्दै उहाँहरुको जीवन बचाउने अवसर पाएकामा आफूलाई गर्व लाग्ने गरेको बताउनुहुन्छ कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति चौधरी । छोरीलाई हेला गर्ने समाजमा नर्स भएर ज्यान जोगाउँदा सम्पूर्ण छोरीप्रति गरिने सम्मानले नै आफ्नो कर्मलाई निरन्तरता दिने ऊर्जा मिल्ने गरेको चौधरीको भनाइ छ ।

ज्योति भन्नुहुन्छ “अहिले जागिरेभन्दा बेरोजगार नर्सको सङ्खया धेरै छ । रोजगारी नपाउँदा र उचित पारिश्रमिक नपाउँदा नर्सहरू विदेशिने र काम छोड्ने क्रम पनि बढेको छ । राज्यले नर्सहरूको दुःख कष्ट बुझेर नर्स लक्षित विशेष कार्यक्रम ल्याए देशको स्वास्थ्य क्षेत्रलाई ठुलो मदत पुग्ने थियो ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।