साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम पुल सोमबारदेखि सञ्चालनमा

खोटाङ, जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकखण्डको बाटोफेदीस्थित साप्सुखोलामा निर्माण गरिएको पक्की पुल सञ्चालनमा ल्याइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१को याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम पुल सोमबारदेखि सञ्चालनमा आएकोे हो ।

मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ६० लाख १० हजार ५४५ मा निर्माण गरिएको सो पुल विसं २०७६ असार ११ गते शिलान्यास गरिएको थियो । सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु दुई करोडको लागतमा ४० मिटर लामो पक्की पुल निर्माण गरिएको हो ।

ठेक्का पाएको सूर्य एण्ड सन्स प्रालिले सो पुल विसं २०७८ जेठ १७ गते निर्माण गरिसक्ने गरी विसं २०७६ जेठ १७ गते सम्झौता गरेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने उक्त खोलामा तोकिएको समयभन्दा अगाडि नै पुल निर्माण गरिएको थियो ।

पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्रकुमार राईले बताउनुभयो । “साप्सुखोलामा पक्की पुल नहुँदा दक्षिणी क्षेत्रका बासिन्दा प्राकृतिक नाकाबन्दीमा परेका थिए”, उहाँले भन्नुभयो, “लामो समयको अथक प्रयासपछि ढिलै भए पनि पुल सञ्चालनमा आएपछि यहाँका बासिन्दालाई लागि आवतजावतमा सहज हुनाका साथै विकासकका लागि ढोका खुल्ला भएको छ ।”

उक्त खोलामा पुल नहुँदा वर्षात्सँगै करिब छ महिना यातायात सञ्चालन नहुँदा आवतजावत गर्न गाह्रो हुनाका साथै दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समस्या हुने गरेको थियो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थललाई सिधा सडक सञ्जालमा जोडिएको सो पुलको बिममा तार घुसाएर तन्काउनका साथै तारमा थप भार राखेर निर्माण गरिएको हो । नयाँ प्रविधि प्रयोग गरेर निर्माण गरिएको पुल जिल्लाकै नमूना भएको निर्माण कम्पनीका प्रतिनिधि हरिप्रसाद बरालले बताउनुभयो ।

तराईका जिल्ला जोड्ने सडकखण्डअन्तर्गत दक्षिणी क्षेत्रमा पर्ने साप्सुखोलामा योसँगै तीनवटा मोटरेबल पक्की पुल निर्माण भएर सञ्चालनमा आएका छन् । सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने रेग्मिटारस्थित साप्सुखोलामा एक नं। तथा दिक्तेल र मात्तिम जोड्ने साप्सुखोलामा २ नं मोटरेबल पक्की पुल यसअघि नै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको थियो ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तह जोड्ने सडकखण्डका खोलामा पक्की पुल निर्माणको काम धमाधम भइरहेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रको व्यापारिक केन्द्रमा पर्ने केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार जोड्ने तापखोलामा भर्खरैमात्र अर्को मोटरेबल पक्की पुल निर्माण गरी सञ्चालनमा ल्याइएको थियो ।

मध्यपहाडी लोकमार्गबाहेक कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका अधिकांश सडक मोटरेबल पक्की पुल अभावमा वर्षात् शुरु भएलगत्तै करीब छ महिना अवरुद्ध हुँदै आएको छ । सडकखण्डमा पर्ने खोलाहरुमा पक्की पुल अभावकै कारण अवरुद्ध हुँदै आएको सबै सडक बाह्रै महिना सञ्चालनमा ल्याउन जिल्लास्थित जनप्रतिनिधिहरुले पहल गरिरहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।