फलाम कुटेर बाल्यकाल बिताएका गङ्गाबहादुरको आधुनिक कृषि फार्म

खोटाङ, कुनै बेला आरनमा फलाम तताएर आकार निकाल्न बुबालाई सघाउने काम हुन्थ्यो गङ्गाबहादुर विश्वकर्माको । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गङ्गाबहादुरले बुवाले आरनमा गरेको परिश्रमको कमाइले परिवारको सम्पूर्ण गर्जो टार्नुपर्ने बाध्यता थियो कुनै बेला।

कमजोर आर्थिक अवस्थाको परिवारमा जन्मनुभएका उहाँ पनि बुवासँगै कैयौँपटक फलाम पोल्ने कोइला बनाउन जङ्गल जानुपथ्र्याे । उसबेला कैयौँपटक हम्मरले फलामको लिहीमा (तताएको फलाम कुट्ने ठाउँ) फलामलाई नै बजार्नुभयो गङ्गाबहादुरले पनि । आरनमा फलाम कुट्दाकुट्दै बितेको थियो उहाँको बाल्यकाल ।

बाली (काम गरेवापत दिइने अन्न)मा काम गरेर परिवार पाल्नुपर्ने अवस्थाबाट गङ्गाबहादुर अहिले खोटाङको उम्दा व्यवसायिक कृषक बन्नुभएको छ । आधुनिक तरिकाले व्यावसायिक कृषि खेती गर्न शुरु गर्नुभएका उहाँले आफूलाई जिल्लामा अहिले नमूना कृषकका रूपमा उभ्याउनुभएको छ ।

आफ्नै बुवाको थातथलो सोल्मामा ‘खोटाङ कृषि फार्म’ खोलेर वार्षिक लाखौँ कमाइ गर्न थाल्नुभएको छ । घर वरिपरि १० वटा प्लास्टिक टनेल बनाउनुभएका गङ्गाबहादुरले मौसमअनुसार विभिन्न किसिमका तरकारी उत्पादन गर्नुहुन्छ ।

पछिल्लो समय हाइटेक प्रविधिसमेत प्रयोग गरेर आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनुभएका उहाँले कमाइको हिसाबले अहिले निकै राम्रो आम्दानी लिनसक्ने हुनुभएको छ । आरनबाट शुरु भएको बाल्यकाल विस्तारै स्कूले जीवनमा परिणत भएको थियो उहाँको । बाल्यकालमा बाँसुरी बजाउने, बनाउने र गीत गाउने सोख थियो । हुन त सोल्माको त्यो दलितबस्तीमा तिहारमा मारुनी नाच राम्रै हुने भएकाले पनि उहाँलाई सङ्गीतको मोह बढेको हो ।

स्कूले जीवन पार गरेपछि उहाँ रेडियोकर्मी बन्नुभयो । जिल्लाको पहिलो रुपाकोट सामुदायिक रेडियोमा गङ्गाबहादुरले कृषिको गोरेटो कार्यक्रममार्फत आफ्नो यात्रा अगाडि बढाउनुभयो । रेडियोमा कार्यक्रम गर्दागर्दै उहाँलाई बजार व्यवस्थापनको भूमिका दिइयो । त्यही बेलाबाट उहाँको व्यावसायिक सोचको विकास भएकाले विज्ञापन शाखाको समेत जिम्मा लिएर काम गर्नुभयो ।

रेडियोमा कृषिको गोरेटो कार्यक्रम र घरमासमेत सामान्य कृषि कर्ममा उहाँको दिलचस्पी बढ्यो । रेडियोमा काम गर्दागर्दै गङ्गाबहादुरले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी सरिता राईसँग अन्तरजातीय विवाहा गर्नुभयो । रुढीवादी सोच बोकेको समाजलाई चुनौती दिएर वैवाहिक बन्धनमा बाँधिएपछि उहाँहरुलाई काम गर्ने थप हौसला मिल्यो । आफ्नो कृषिकर्मलाई व्यावसायिक हिसाबले अगाडि बढाउँदा उहाँको कामले विस्तारै सफलता हासिल गर्दै गयो । कृषिसम्बन्धी विभिन्न पुस्तकहरु पढ्ने जाँगरले उहाँले पहिल्यैदेखि सिटिइभिटीले दिने तालिमहरु लिनुभयो । उहाँसँग सीप त भयो तर, आधुनिक कृषि व्यवसायमा लगानी गर्ने स्रोत भएन ।

कुनैबेला वैदेशिक रोजगारीमा जान राहादानी बनाएर त्यसबारे जानकारी लिनुभयो । जापानको लागि प्रक्रिया पनि अगाडि बढाउनुभयो । तर गत स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा उहाँ नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएपछि जापान जाने सपनामा ब्रेक लाग्यो । करिब रु सात÷आठ लाख फसाइसक्नुभएका उहाँको भिसा आउने तयारी थियो ।

जनप्रतिनिधि भएपछि गाउँमा उहाँको कृषि पेशा त छँदै थियो अर्को समाजसेवाको पाटो पनि थपियो । त्यसपछि उहाँ आफ्नो कृषिकर्म र राजनीतिक धर्म तथा समाजसेवाको मर्मलाई मर्न नदिने प्रणका साथ जिल्लामा नै रहेर काम गर्न थाल्नुभएको छ । उहाँको कामप्रतिको लगावलाई मूल्याङ्कन गर्दै कृषि ज्ञान केन्द्र खोटाङले फार्म निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोगसमेत गरेको छ । उहाँको श्रीमतीसँगै एक छोरा र एक छोरी छन् ।

उहाँको सबै काममा घरपरिवारको सहकार्य छ । बिहान उठेर तरकारी बारीमा जाने, बजारमा जाने समय भए नभएको अवस्था हेर्ने, पाँचवटा बङ्गुर, दुईवटा भैँसीलाई दाना र घाँसको जोहो मिलाउने । उहाँको फार्ममा अहिले उत्पादन दिन थालेका दुई हजार ५०० बोट गोलभेडा छन् । हाइटेक प्रविधि अपनाएर बनाइएको फार्मबाट गङ्गाबहादुरले दिक्तेल बजारमा दैनिक ७० देखि १०० केजीसम्म गोलभेडा बिक्री गर्नुहुन्छ ।

प्रति केजी रु ७० मा बिक्री भइरहेको गोलभेडाबाट मात्रै खर्च कटाएर मासिक रु ७५ हजारभन्दा बढी आम्दानी हुन्छ । फार्ममा गोलभेडासँगै च्याउ, बन्दा, काउली, भिण्डी, सिमी, अकबरे खुर्सानी लगायत विभिन्न तरकारी उत्पादन हुन्छ ।

बाहिरी जिल्लाबाट आयातित तरकारीलाई बिस्थापित गर्न र जिल्लामै अर्गानिक उत्पादित कृषि उपजलाई बजारीकरण गर्न अभियान शुरु भएको छ । “बजारमा अर्गानिक कृषि उपजको माग बढेको बढ्यै छ । उत्पादनले थेग्न सकेको छैन”, उहाँले भन्नुभयो, “आफ्नो फार्मबाट उत्पादित गोलभेडाले बजारको माग धान्न धौ–धौ भएको छ । केही समयपछि थप बिस्तार गर्ने योजना बनाएको छु ।”

पछिल्लो पाँच वर्षको अवधिमा कृषि, राजनीति र अध्ययनलाई सँगसँगै अगाडि बढाउनुभएका गङ्गाबहादुरले समाज शास्त्रमा स्नातकोत्तर गर्दै हुनुहुन्छ । दश स्थानीय तह रहेको जिल्लामा यातायात अवरुद्धका कारण जिल्लाकै अन्य कृषकले उत्पादन गरेका कृषि उपज बजारसम्म ल्याउन सकिएको छैन । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको कृषकहरुको भनाइ छ । –––

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।