सभामुखद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौँ, सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ ।

विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण शुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ३० प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

निर्माणाधीन संसद् भवनको आज सभामुख अग्निप्रसाद सापकोटाले अवलोकन गर्नुभयो । अवलोकनका क्रममा विशेष भवन निर्माण परियोजनाका प्रमुख दिलीपशेखर श्रेष्ठले हालसम्म भइरहेका प्रगति बारे जानकारी गराउनुभएको थियो । निर्माणाधीन भवनको अवलोकनपछि सभामुख सापकोटाले संसद् भवनको निर्माण कार्यप्रति आफू सन्तुष्ट रहेको बताउनुभयो ।

पछिल्ला समय निर्माणमा भइरहेको प्रगतिले खुशी लागेको बताउँदै उहाँले प्रतिकूलताका बीच पनि निर्माण कार्यले गति लिएको र आगामी दिनमा पनि समन्व्यात्मक ढङ्गले काम गर्न निर्देशन दिनुभयो ।

तोकिएको समयमै निर्माण सम्पन्न गर्न सबै उपाय अपनाउन आग्रह गर्दै उहाँले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताउनुभयो । “दुई वर्षभित्र निर्माण गर्नुपर्ने अवस्था छ, हामीले तीव्र गतिमा काम ग¥यौँ भने तोकिएभन्दा चाँडो काम सक्न सक्छौँ,” उहाँले भन्नुभयो, “मेरो तर्फबाट गर्नुपर्ने सबै समन्वयको काम गर्छु, संसद् सचिवालयका तर्फबाट आवश्यक सहयोग पनि यहाँहरुले पाउनुहुनेछ ।”

संसद् सचिवालयका तर्फबाट टोली बनाएर निर्माणमा सहजीकरण गर्ने सभामुख सापकोटाले बताउनुभयो । उहाँले कामको रफ्तार बढाउन पनि आयोजनासँग आग्रह गर्नुभयो । भवन निर्माणमा संलग्न कामदारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि आफूले पहल गर्ने उहाँले बताउनुभयो ।

सम्झौताअनुसार नयाँ संसद् भवन २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनुपर्नेछ । भवन निर्माणमा २२ महिना व्यतित भइसकेको छ । कोरोनाका कारण निर्माण अवधि छ महिना थप गरिएको छ । आयोजनाको कूल लागत रु छ अर्ब दुई करोड (भ्याटबाहेक) रहेको छ । आयोजनामा १२ वटा भवनसहित चारवटा गेट र ल्याण्ड स्केपिङ्ग पनि हुनेछ । सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना हुनेछन् ।

संसद् भवन अत्याधुनिक सुविधासहित नेपाली परम्परागत ढाँचाका हुने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सङ्घीय संसद्का दुवै सदन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएका छन् । सो अवसरमा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम, शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलगायत हुनुहुन्थ्यो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।