धार्मिक पर्यटनसँग जोडिँदै बेगनास ताल बराह

गण्डकी, सात तालको बाटिका शहरका रुपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथस्थित बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्यका साथ पहल थालिएको छ।

बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल थालिएको हो ।

साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको रु एक करोड १७ लाख रुपैयाँको सहयोगमा बराह क्षेत्रमा पदमार्ग, बस्ने ठाउँ, वनभोजस्थल आदिको निर्माण भइसकेको बेगनास ताल बराह संरक्षण समितिका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिनुभयो ।

बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विकरुपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि अघिल्लो वर्ष पुरातत्व विभागका प्राविधिकसमेत आएर यहाँको अध्ययन गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेगनास तालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रमासमेत पु¥याउने लक्ष्य राखिएको छ । डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका अवसरमा ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीयवासी सबैलाई राम्रो होस् भन्ने कामना गर्दै पूजाआजा गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

मनले चिताएको पुग्ने जनविश्वासका साथ यस क्षेत्रमा विभिन्न महत्वपूर्ण तिथिमिति एवं पर्वमा दर्शनार्थी आउने गरेका छन् । बराह क्षेत्रसहित यस आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन एवं पर्यटकीय विकासलाई लक्षित गरी २०७५ मङ्सिर २२ गतेदेखि २९ गतेसम्म बेगनासताल क्षेत्रमा महायज्ञ गरिएको बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले जानकारी दिनुभयो ।

तत्कालीन महायज्ञ आयोजक मूल समितिका महासचिवसमेत रहनुभएका अधिकारीका अनुसार महायज्ञमा कूल रु एक करोड चार लाख आम्दानी भएकामा सबै खर्च कटाएर रु ७६ लाख बचत भएको थियो । बचत रकमको ब्याजबाट यहाँका विभिन्न सामाजिक कामका गतिविधि अघि बढाइएको छ । बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका बेगनास बराह, वरपरका गोरखनाथ, अर्घौं मौला ठूलाकोट, बेगनास कोट, पचभैया कोट, रुपा कोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको प्रवद्र्धन र विकास गर्ने लक्ष्य रािखएको थियो ।

महायज्ञपश्चात् उक्त क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गरिएको जानकारी दिँदै अधिकारीले बेगनास ताल परिसरमा विश्राम गृह, स्वच्छ पिउने पानीको व्यवस्था गरिएको बताउनुभयो । तालमा डुबेर बेपत्ता भएका व्यक्तिको उद्धारका लागि पितृ स्मृति कक्ष निर्माण गरिएको जानकारी दिँदै उहाँले बेगनास तालकै गाईघाटमा गाई तथा बाच्छीको मूर्ति स्थापना गरिएको बताउनुभयो ।

हावाहुरी आदिका कारण हुनसक्ने सम्भाव्य जोखिमलाई लक्षित गरी उद्धार कक्षसमेत निर्माण गरिएको छ । बेगनास तालसहित यहाँका बराह क्षेत्रलगायतका स्थान धेरै सम्भावना बोकेर पनि ओझेलमा परिरहेको होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका पूर्वअध्यक्ष एवं ग्रान्ड होटेल बेगनासका सञ्चालक दुर्गाप्रसाद अधिकारीले बताउनुभयो । प्रचुर सम्भावनाका बाबजुद ओझेलमा परेको यस क्षेत्रको प्रवद्र्धन र विकासका लागि राज्यको चासो पुग्नुपर्ने उहाँको भनाइ छ ।

लेखनाथ क्षेत्रमा पर्यटकीय विकासका धेरै सम्भावना रहेको बताउने गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र कँडेल यहाँको प्रवद्र्धन र विकासका लागि स्थानीयवासीको जागरुकता अपरिहार्य भएको बताउनुहुन्छ ।

“बेगनास तालमा जलाधार क्षेत्रबाट आउने गेग्रान थुप्रिन सक्ने भएकाले सरोकारवाला सङ्घसंस्थाले यसतर्फ बेलैमा चासो दिनु आवश्यक छ”, उहाँले भन्नुभयो, “बेगनास बराहलगायतका यहाँका धार्मिकस्थललाई पर्यटनसँग जोडेर विकास गर्न सकिन्छ ।” बेगनाससहित लेखनाथका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकासका लागि गुरुयोजना तयार गरी अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले सरकारले यहाँका सम्भावनालाई प्राथमिकताका साथ उजागर गर्ने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।