दैलेखमा सात वर्षीय सुवास नयाँ ‘देउकेटा’

प्रकाश अधिकारी, कर्णाली, २४ साउन । सुदूरपश्चिममा देउकी र काठमाडौँ उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पुजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार । कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरस्थित पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खौँदेखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको छ । हाल यस मन्दिरमा सात वर्षीय सुवासदेव गिरी पुजारी (देउकेटा) हुनुहुन्छ ।

सुवास गतवर्ष मङ्सिरदेखि पुजारी नियुक्त हुनुभएको हो । त्यसअघि उहाँका साहिला दाजु जीवनदेव पुजारी हुनुहुन्थ्यो । जीवनदेवको उमेर १६ वर्ष पुगेपछि उत्तराधिकारीको रूपमा पुजारीमा सुवास मन्दिर प्रवेश गर्नुभएको हो । सुवासले मन्दिरमा दैनिक पूजापाठ गर्ने, दर्शनार्थीलाई टीका र आर्शिवाद दिँदै आएको बताउनुभयो । “पूजापाठका सबै काम सिक्दैछु, बुवा दाईले सिकाउनुहुन्छ”, उहाँले भन्नुभयो ।

शिव महादेव मन्दिरमा कुमार केटालाई मन्दिरमा चढाएर मात्र पुजारीको मान्यता दिने चलन छ । जसलाई स्थानीय भाषामा ‘देउकेटा’ अर्थात् ‘देउतालाई चढाएको केटा’ भनिन्छ । देउतालाई चढाएको केटाले पूजापाठ मात्र होइन मन्दिरमै बास बस्छन् । पूर्व ‘देउकेटा’ जीवनदेवले वर्षौँदेखि चलिआएको संस्कार भएकाले आफूहरूले निरन्तरता दिँदै आएको बताउनुभयो । “आफँैले पकाएको खानुपर्छ, अरु जस्तो मन लागि हिँडडुल गर्न पाइँदैन”, उहाँले भन्नुभयो, “स्कूलमा गएर पनि अलग्गै बस्नुपर्छ, महिनावारी भएकालाई छुन हुँदैन ।” सुवास हाल महादेव मावि कक्षा तीनमा अध्ययनरत हुनुहुन्छ । सुवास सानै भएकाले पूजापाठमा जीवनदेवले सघाउने गर्नुभएको छ । उहाँ २०६८ जेठदेखि गत वर्ष मङ्सिरसम्म ‘देउकेटा’ का रुपमा मन्दिरमा बस्नुभएको थियो ।

मन्दिर दुल्लू नगरपालिका–१ तल्लो डुङ्गेश्वर बजार छेवैमा छ । जुन कर्णाली नदी र लोहोरे खोलाको सङ्गमस्थल हो । यहाँ दैलेख, अछाम, सुर्खेतका साथै राजमार्ग हुँदै आउजाउ गर्ने मन्दिर प्रवेश गरेर ‘देउकेटा’ बाट टीका थाप्नुका साथै आर्शिवाद लिई गन्तव्यतर्फ लाग्दछन् । मङ्गलबार र शनिबार श्रद्धालु भक्तजनको बढी भीड लाग्दछ ।

खड्गदेवका छोरा पे्रमदेव, चन्द्रदेव र जीवनदेवपछि सुवासदेव ‘देउकेटा’ का रूपमा भित्रिनु भएको हो । खड्गेव पनि ११ वर्ष देउकेटा हुनुहुन्थ्यो । पूजापाठबाट सङ्कलित दान दक्षिनाबाटै परिवारको खर्च धानेको बताउँदै खड्गदेवले भन्नुभयो, “पूजापाठबाटै सात जनाको परिवार पाल्नुपर्ने बाध्यता छ, जग्गा जमीन छैन, गुठीको आम्दानीबाटै गुजारा चलाउनुपर्छ ।”

उहाँका अनुसार ‘देउकेटा’ ले १६ वर्ष पार नगरुञ्जेलसम्म पुजारी बन्नुपर्छ । त्यसअघि नै बिहे भयो भने पनि मन्दिरबाट बाहिरिनुपर्छ । यदि पुजारीमा कुनै समस्या आइपरेमा सन्तानको रोल क्रमअनुसार नियुक्त गर्ने चलन छ । त्यसरी नियुक्त ‘देउकेटा’ लाई विधिपूर्वक व्रतबन्ध गरी भ्यियाइन्छ । विवाहितालाई ‘देउकेटा’ बनाए अनिष्ट हुने विश्वास छ । प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्ये शिव मन्दिरमा गिरी, शिरस्थानमा नाथ, कोटिलामा योगी, धुलेश्वरमा सन्यासीले पूजाआजा गर्ने संस्कार छ । नाबालकले पूजा गर्ने भने यही यो मन्दिर मात्र हो । यहाँका अन्य मन्दिरमा यस्तो चलन छैन ।(रासस)

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।