काम र कर्तव्यको आधारमा जिम्मेवारी र मूल्याङ्कन ः गृहमन्त्री खाँण

काठमाडौँ, गृहमन्त्री बालकृष्ण खाँणले चिनजानका आधारमा नभई काम र कर्तव्यका आधारमा कर्मचारीको जिम्मेवारी र मूल्याङ्कन हुने बताउनुभएको छ । उहाँले जिम्मेवारी लिने क्रममा कसैको सिफारिस भयो भने उसको मूल्याङ्कनको नतिजामा माइनस हुँदै जाने पनि स्पष्ट पार्नुभएको छ ।

सिंहदरबारमा आज आयोजित नया गृहसचिव टेकनारायण पाण्डेको स्वागत तथा यसअघिका गृहसचिव महेश्वर न्यौपानेको बिदाइ समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जनतालाई सेवा पु¥याउने गृह मन्त्रालयमा क्षमता भएका सरकारी अधिकारीले उचित जिम्मेवारी पाउनेमा आश्वस्त पार्नुभयो । “जिम्मेवारी लिने क्रममा सिफारिस भयो भने माइनस नतिजा आउँछ”, मन्त्री खाँणले अगाडि भन्नुभयो, “कहिलेकाही नसोचेको जिम्मेवारी पनि थाहै नपाइ आउन सक्छ ।”

उहाँले सबै मिलेर नागरिकको सुरक्षा गर्नु नै प्रमुख दायित्व भएको बताउनुभयो । राष्ट्रिय सुरक्षामा भने कुनै सम्झौना नहुने भन्दै मन्त्री खाँणले राज्यले सुम्पिएको जिम्मेवारी पूरा गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । क्यालेन्डर हेरेर कार्यकाल बिताउने पुरानो मान्यताले जिम्मेवारी थेग्न नसक्ने हुँदा नयाँ शैली, पद्धति, प्रक्रिया र जिम्मेवारी बहन गर्न मातहतका कर्मचारीसँग आग्रह गर्नुभयो ।

मन्त्री खाँणले कोभिड–१९को महामारी कायमै रहेको र तेस्रो लहर आउने सम्भावना जिवितै रहेकोतर्फ कर्मचारी तथा सुरक्षा अधिकारीको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्यो बेला अस्पतालको बेड होइन बरण्डा पनि नपाउने अवस्था आउन सक्छ भन्नेमा चिन्तित रहेको उल्लेख गर्नुभयो । एक महिनाको अवधिमा मन्त्रालयका धेरै गतिविधिका बारेमा जानकारी प्राप्त भएको उहाँले स्मरण गर्नुभयो ।

समारोहमा गृहसचिव टेकनारायण पाण्डेले संयुक्त सरकारले ल्याएको साझा कार्यक्रमका आधारमा कार्ययोजना बनाएर मन्त्रालयलाई अघि बढाउँदै नेपाल सरकारले चाहेको नतिजा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “कुशल कर्म गरेर मन्त्रालयको साख उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्दछु”, सचिव पाण्डेले थप्नुभयो, “गृहप्रशासन सार्वजनिक सेवाको अगुवाइ गर्ने संस्था हो, यसलाई रुपान्तरण गर्दै आधुनिकीकरण गर्नुपर्छ ।” उहाँले गृह मन्त्रालयका हरेक काम कारवाहीमा सरकारको तस्बिर झल्किने गरी संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

समारोहमा गृहसचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा हुनुभएका महेश्वर न्यौपानेले १८ महिना छ दिनको गृह सचिवको अनुभव सुनाउँदै चुनौतीका बीच महत्वपूर्ण कार्य सम्पन्न गरेको जिकिर गर्नुभयो । उहाँले मन्त्रालयमा परिस्थिति आँकलन गरेर निर्णय दिन नसकिए समस्या जटिल भएर जानेतर्फ सचेत गराउनुभयो । उहाँले कोभिड–१९ नियन्त्रण, विपद् र आन्दोलनका समयमा प्रजिअले खेलेको भूमिकाको प्रशंसा पनि गर्नुभयो ।

कोभिडको दोस्रो लहरमा हेलिकप्टरबाट अक्सिजन ल्याएर उपचार गरिएको तथा अस्पतालमा शैया नहुँदा होस् या क्वारेन्टिन र आइसोलेशन व्यवस्थापनका सन्दर्भमा गृह प्रशासन मातहतका निकायले खेलेको भूमिका उल्ेखनीय रहेको बताउनुभयो ।

उहाँले सीमा क्षेत्रमा प्रहरीको उपस्थिति र प्रजिअको मनोबल बढाउनुपर्ने, तल्लो तहका प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने विपद् व्यवस्थापन, सूचना सङ्कलनका साथै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै राहत र पुनःस्थापनमा दिइने राहत रकम वृद्धि गर्नुपर्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई स्वयत्त बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।