अर्थमन्त्रीको वक्तव्यमाथि, सांसदको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ भनी प्रश्न

काठमाडौँ, अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरुले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ भनी प्रश्न गरेका छन् ।

सांसद डा खिमलाल देवकोटाले अर्थमन्त्रीले वैदेशिक ऋण बढेको उल्लेख गरेकाले उहाँलाई ऋणबिना नै अघि बढ्न लागिएको हो भनी प्रश्न गर्नुभयो । नेपाली कांग्रेसका प्रकाश पन्थले अपाङ्गता भएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रमिला देवीले पछाडि परेका नागरिकका लागि विशेष व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । सांसद उदया शर्मा पौडेलले गरीखाने वर्गले खोप पाउनुपर्ने बताउनुभयो । सांसद रामनारायण बिडारीले कृषिमा वैदेशिक लगानी भित्र्याउने कि यो क्षेत्रलाई आत्मनिर्भर बनाउने भनी सरकार प्रष्ट हुनुपर्ने बताउनुभयो । सांसद ठगेन्द्र प्रकाश पुरीले अध्यादेश बजेट प्रतिस्थापन विधेयक कहिले आउँछ भनी प्रश्न गर्दै त्यसमा राप्ती लोकमार्गले प्राथकिता पाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद देवेन्द्र दाहालले प्रतिस्थापन विधेयकमा यसअघिको सरकारले ल्याएको बजेटभन्दा नयाँ बजेट ल्याउन लागेको कि त्यही बजेटको आकार मात्रै बढाउन लागिएको हो भनी प्रश्न गर्नुभयो। नेकपा (एमाले)की तुलसाकुमारी दाहालले पहिलोपटक कोरोनाको परीक्षण हङकङमा पठाइएकामा अहिले परीक्षण र उपचारमा नेपाल धेरै अघि बढिसकेको बताउनुभयो ।

सांसद भैरवसुन्दर श्रेष्ठ श्वेतपत्रमा यो सरकार पाँच दलीय गठबन्धन भन्ने उल्लेख भएको भन्दै ती दल कुन–कुन हुन भनी प्रश्न गर्नुभयो । नेपाली कांग्रेसकी अनिता देवकोटाले यसअघिको सरकारले अध्ययन नै नगरी भर्चुअल उद्घाटन भएका सडकको अवस्थाका बारेमा जिज्ञासा राख्नुभयो । नेकपा (एमाले)की सांसद भगवती न्यौपानेले माओवादी केन्द्र पटक–पटक सरकारमा संलग्न भएकाले विगतमा भएका कमजोरीको जिम्मेवारी पनि लिनुपर्नेमा जोड दिनुभयो।

सांसद डा विमला राई पौडेलले चार महिना बढी भारतले गरेको नाकाबन्दीले अर्थतन्त्रमा नकारात्मक असर गरेको उल्लेख गर्दै गत आवमा कोभिड सङ्क्रमणका कारण राजश्व कम र खर्च बढ्दा सञ्चिती घटेको उल्लेख गर्नुभयो । सांसद कोमल वलीले कोभिडको प्रभाव कृषि, उद्योग, पर्यटनमा कति प¥यो र त्यसविरुद्ध लड्न सरकारको तयारी के छ भन्ने विषयमा अर्थमन्त्री शर्मासँग जानकारी माग्नुभयो ।

सांसद विमला घिमिरेले सामाजिक सुरक्षा कार्यक्रममा के कुरा दोहोरिएको छ भनी प्रश्न गर्दै अघिल्लो सरकारले स्वास्थ्यमा छुट्याएको बजेटले निरन्तरता पाउँछ या पाउँदैन भनी जिज्ञासा राख्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।