घरको मूल ढोकामा आज नागको चित्र टाँसेर नाग पञ्चमी पर्व मनाइँदै
धनकुटा,२९ साउन । घरको मूल ढोकामा आज नागको चित्र टाँसेर प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व मनाइँदै छ ।
घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मा र्नु हुँदैन भन्ने मान्यता छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ ।
नाग रिसाए भने अनिष्ट हुने मान्यताअनुसार नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको पण्डित भीमप्रसाद शर्मा उपाध्यले बताउनु भयो । आज बाट बर्षा याम समाप्त भई हिउँद प्रारम्भ हुने र नेपालीहरुका चाड पर्ब समेत सुरु हुने बताइन्छ ।


