मुख्यमन्त्री शाही;सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुन्छ

कर्णाली, ४ भदौ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुने बताउनुभएको छ ।

‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा आज उहाँले शुभकामना सन्देश दिनुहुँदै प्रदेश प्राप्तिको आन्दोलनमा शाहदत प्राप्त गर्ने यहाँका चार शहीदको बलिदानीबाट कर्णाली प्रदेशको स्थापना भएको बताउनुभयो ।

“सङ्घीय व्यवस्था स्थापनाका लागि दशकौँदेखि सशस्त्र एवं निशस्त्ररुपमा नेपाली जनताले गरेका बलिदानीपूर्ण सङ्घर्षको पृष्ठभूमिमा कर्णाली प्रदेशवासी जनताले आफ्नो प्रदेश प्राप्तिका लागि बलिदानीपूर्ण सङ्घर्ष गरे”, उहाँले भन्नुभएको छ, “सङ्घीय संरचना निर्माणका क्रममा हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश बनाउने गरी भएको निर्णयको विरोध एवं कर्णाली प्रदेशवासीको छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित दुईसाता चलेको जनआन्दोलन र चारजना वीरशहीदको बलिदानपश्चात् कर्णाली प्रदेश स्थापना भएको थियो ।”

साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजुवारले आजकै दिन वीरगति प्राप्त गरेका थिए । प्रदेश प्राप्तिको आन्दोलनमा अग्रमोर्चामा रहेर लड्दै गर्दा सहादत प्राप्त गर्ने महान् शहीदप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले सन्देशमा आन्दोलनमा घाइते भएका योद्धाप्रति उच्च सम्मानसहित स्वास्थ्यलाभको कामना गर्नुका साथै आन्दोलनमा सरिक आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले सङ्घीयता विरोधी षडयन्त्रकाविरुद्ध निरन्तर खबरदारी गर्न सबैमा हार्दिक अपिल गर्दै स्वदेश तथा विदेशमा रहनुभएका समस्त कर्णालीवासी दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

उहाँका अनुसार ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को ऐतिहासिक दिनलाई भव्यरुपमा मनाउने सोच भए पनि कोरोना महामारीको सङ्कटले औपचारिक कार्यक्रम गर्ने अवस्था रहेन यद्यपि दिवसको अवसरमा प्रदेश सरकारले आज कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिको लागि सरकारले अगाडि सारेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को अभियानमा एकताबद्ध भई अगाडि बढ्न यो दिवसले समस्त कर्णालीवासीमा थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।