बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण केही दिन मनसुन सक्रिय हुने
काठमाडौँ, ६ भदौ । अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
“न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको भए पनि बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण अझै मनसुन सक्रिय भएको हो,” मौसमविद् श्रेष्ठले भन्नुभयो ।
विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्््न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


