तिहार र छठमा लाखौँ मूल्यको केरा बिक्री
उदयपुर, २६ कात्तिक । तिहार र छठ पर्वमा जिल्लामा लाखौँ मूल्यको केरा बिक्री भएको छ । जिल्लाको केराको पकेट क्षेत्रका रुपमा चिनिएको त्रियुगा नगरपालिकामा बढीजसो केरा बिक्री भएको छ । त्रियुगा–१ जोगिदह र चौदण्डीगढी नगरपालिका–९ हँडिया र वडा ५ सुन्दरपुर क्षेत्रमा यसपटक तिहार र छठमा लाखौँ मूल्य बराबर केरा बिक्री भएको छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह र चौदण्डीगढी नगरपालिकाको हँडिया र सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा अत्यधिक केराको कारोबार भएको केरा उत्पादक कृषकले बताएका छन् ।
जोगिदहका केरा व्यवसायी कृष्णदेव चौधरी तिहार र छठमा रु एक लाख ५० हजारभन्दा बढीको केरा बिक्री गरेको बताउनुहुन्छ । तिहार र छठमा जोगीदह क्षेत्रमा मात्र झण्डै रु आठ लाखभन्दा बढीको केरा बिक्री भएको पदम खड्का बताउनुहुन्छ । चौदण्डीगढीको हँडियामा मात्र तिहार र छठमा गरेर दशौँ लाख मूल्यको केरा बिक्री भएको हँडियाका देवदत्त चौधरीले बताउनुभयो । हँडियाको उत्तराई टोल र देवधार क्षेत्रबाट तिहार र छठमा दशाँै लाख मूल्यको केरा बिक्री भएको कृषक विष्णुदेव चौधरी बताउनुहुन्छ । यता चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा झण्डै रु आठको केरा बिक्री भएको केरा उत्पादक कृषक वीरेन्द्र चौधरीले बताउनुभयो ।
उक्त क्षेत्रमा दसैँका समयमा पनि झण्डै रु आठ लाख बराबरको केरा बिक्री भएको चौधरी बताउनुहुन्छ । तिहार र छठमा सो क्षेत्रबाट सप्तरीको फत्तेपुर, चौदण्डीगढीको बेल्टार बजार, सदरमुकाम गाईघाट, सुनसरीको चतरा बजारलगायत ठाउँमा केरा बिक्री भएको कृषक प्रेमराज घिमिरेले बताउनुभयो । कोरोना सङ्क्रमणका कारण असोज अघि उत्पादन भएको केरा बिक्री हुन सकेको थिएन् । दसैँ, तिहार र छठमा केरा बिक्री भएको घिमिरेले बताउनुभयो । उक्त क्षेत्रमा उत्पादन भएको गाईघाट, बेल्टार, सप्तरी र सुनसरीका विभिन्न बजारमा बिक्री भएको थियो । केरा व्यापारी केरा खरिदका लागि घरमै आएका कृषक बताउँछन् । जिल्लामा वार्षिक रु दुई करोडभन्दा बढीको केरा बिक्री हुने गरेको छ ।
यो पनि पढ्नुहोस्..भूमिहीनद्वारा जग्गामा स्वामित्व माग
कञ्चनपुर, २६ कात्तिक । कञ्चनपुरका भूमिहीनले जग्गामा स्वामित्वको माग गरेका छन् । सुकुम्बासी, भूमिहीन, दलित, आरक्ष पीडित, मुक्तकमैया महिला तथा अव्यवस्थित बसोवासीले जग्गामा स्वामित्वको माग गरेका हुन् । सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगलाई दबाब दिन उनीहरुले बहादुरसिंह महराको संयोजकत्वमा सात सदस्यीय सङ्घर्ष समितिसमेत गठन गरेका छन् । “हाम्रा नाममा पटकपटक आयोग र कार्यदल बन्ने र विघटन गर्ने काम हुँदै आएको छ”, संयोजक महराले भन्नुभयो, “वर्षौंदेखि समस्या ज्यूँका त्यूँ छन् ।”सङ्घर्ष समितिले दबाबका कार्यक्रम अघि बढाउने उहाँ बताउनुहुन्छ । समितिले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई आयोगसम्बन्धी काम अघि बढाउन ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । कञ्चनपुरमा ५६ हजार २४ अव्यवस्थित बसोवासी रहेको तथ्याङ्क छ ।


